मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो हुँदैन : मेयर बालेन


  • KTM Khabar
  • बिहिबार, असोज १३ २०७९
5.7K
SHARES

फाइल तस्विर

बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्।

‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो,’ शाहले भनेका छन्,‘यो कायम छ। यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं।’

महानगरको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिमा नै ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ। फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको मेयर शाहले उल्लेख गरेका छन्।

‘यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ। पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ। अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घरबाहिर निस्कने समय हो,’ उनले भनेका छन्,‘उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो। सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो। त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ। यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं।’ उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा