मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

सेना र प्रहरीले नै टेरेनन् बालेनलाई, अब के होला कारबाही ?


  • KTM Khabar
  • बिहिबार, असोज १३ २०७९
5K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् । कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिनुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्को पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’

दुई सुरक्षा निकायपछि कर तिर्न कुनै पनि जवाफ नदिने सरकारी निकायमा दरशथ रंगशाला, नेपाल कमर्स क्याम्पस, नेसनल ट्रेडिङ लिमिटेड छन् । ती निकायले लामो समयसम्म कर तिरेका छैन ।

उता खाद्य व्यवस्था तथा व्यापार कम्पनी र चेम्बर अफ कमर्सले पूर्ण रूपमा कर छुट गर्न आग्रह गर्दै कामपालाई पत्र पठाएको छ । ती कम्पनीको दाबी छ –‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ को उपदफा ५ को खण्ड ‘ङ’ बमोजिम मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघसंस्थाको घर र घरजग्गामा सम्पत्ति कर नलाग्ने हुनाले कर शत प्रतिशत छुट हुनुपर्छ ।’

त्यसै गरी खिचापोखरीको आरबी कम्प्लेक्स, पुतली सडककोे नेपाल सेयर मार्केट र महावीर प्यालेस भवनको कर नलाग्ने जनाउँदै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थानले कामपालाई पठाएको पत्रमा दुई भवन गुठी तैनाथ जग्गामा निर्मित भवन भएकोले नेपाल सरकारको संविधान, २०७२ को धारा ११६ र २०४ मा गुठीको रकममा राजश्व नलाग्नुका साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५(५) अनुसारको गुठी र घर जग्गामा सम्पत्ति कर नलाग्ने भएकोले तिर्न नपर्ने उल्लेख गरिएको छ ।

कामपाले भदौको दोस्रो सातबाट कर तिर्न ताकेता गर्दै झण्डै सयवटा निकायलाई पत्र काटेको थियो । कामपा राजश्व विभागका निर्देशक डा. शिव अधिकारीका अनुसार पत्र पठाएपछि हालसम्म एक दर्जन संस्थाबाट करिब ५ करोड रुपियाँ कर संकलन भएको छ । उहाँका अनुसार हालसम्म सम्पत्ति करबापत २ करोड ५१ लाख, घर बहाल करबापत ८० करोड ३६ लाख, मनोरञ्जन करबापत ८६ लाख ८५ हजार र व्यवसाय करबापत १९ लाख ५ सय रुपियाँ कर संकलन भएको छ ।

१० वटा क्यासिनोमध्ये याक एन्ड यतिको रोयल क्यासिनो, सांग्रिला र क्यासिनो र्‍याडबाहेक सबैले कर तिरेका छन् । तीन क्यासिनो बन्द भइसकेका कारण कर नतिरेको विभागले जनाएको छ । कर संकलन गर्ने कामलाई तिव्रता दिइएको जानकारी दिँदै विभागीय प्रमुख डा. अधिकारीले भन्नुभयो– ‘उहाँले कर नतिर्ने संस्थामाथि दशैंलगत्तै कारबाही गर्ने तयारी गरेका छौं ।’ उहाँले शंकरदेव, आरआर, नेपाल ल, सरस्वती र वीर अस्पतालले कर तिर्ने प्रतिबद्धता जनाएका छन् भने विद्युत् प्राधिकारणले १९ करोड २६ लाख रुपियाँ तिर्ने जनाएको छ ।

कामपाका प्रवक्ता मानन्धरले कर नतिर्नेमाथि महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

कामपाका प्रवक्ता नवीन मानन्धरले यही भदौ १९ देखि २३ गतेसम्म पत्रचार गरेका ३४ निकायले कर नतिरे कारोबार बन्द गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘सरकारी निकायले व्यवसाय चलाएएपछि कर तिर्नुपर्छ, विभिन्न बहाना देखाएर नतिर्ने मनसाय राख्नु गलत हुन्छ ।’

कर नतिर्ने सरकारी निकायमा नेपालीसेना, नेपाल प्रहरी, कृषि सामग्री संस्थान, गुठी संस्थाले भाडामा दिएको पुतली सडकको सेयर मार्केट, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेसनल ट्रेडिङ कम्पनी हुन् ।

यसअघि कामपा राजश्व विभागले भदौ २१ गते १७ निकाय, २३ गते ७ वटा क्यासिनो र २३ गते नेपाली सेना र नेपाल प्रहरीसहित १० निकाय र पछिल्ला दुई साताअघि व्यक्ति र संस्था गरी झण्डै दुई दर्जनलाई पत्राचार गरेको थियो । नेपालको संविधानको अनुसूची ८ ले स्थानीय करअन्तर्गत सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । नेपाल समाचारपत्रबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा