मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

रवीन्द्र मिश्र काठमाडौँ १ बाट चुनाव लड्ने, प्रकाशमानको राजनीतिक यात्रामा ब्रेक लाग्ने संकेत !


  • KTM Khabar
  • बिहिबार, असोज १३ २०७९
7.1K
SHARES

काठमाण्डौँ क्षेत्र नम्बर १ काँग्रेसले जित्दै आएको क्षेत्र हो । काँग्रेस पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री समेत भइसकेका नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएको क्षेत्रमा यो पटक उलटपुलट बन्न सक्ने सङ्केत देखा परेको विश्लेषकहरू बताउँदै आएका छन् ।

गत चुनावमा रबिन्द्र  मिश्रलाई झिनो मतान्तरले पछि परेर नेता सिंहले चुनाव जितेका थिए । तत्तकालिन बिबेकशिल साझा पार्टीको तर्फबाट चुनाव लडेका रवीन्द्रले काँग्रेस नेता सिंहलाई त्यति बेलै टक्कर दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेका मिश्रले यसपटक पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएसँगै नेता सिंहलाई चुनाव जित्न हम्मे हम्मे पर्ने सङ्केत देखिन थालेको विश्लेषकहरू बताउँदै आएका छन् ।

काठमाण्डौँ १ बाटै चुनाव लड्न रबिन्द्र मिश्रले शुक्रवार औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेको स्रोतको दाबी छ । अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए ।

त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।

राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।

राप्रपाले मिश्रलाई तेस्रो वरीयतामा भित्र्याएको छ । उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय राप्राले गरेको छ ।

राजनीतिका जानकारका अनुसार काठमाण्डौँ क्षेत्र नम्बर १ काँग्रेसको पकड भएको क्षेत्र हो । तर पछिल्लो समय नेता प्रकाशमान सिंह जनतामाझ अनपपुलर बन्दै जानु र र काँग्रेस भित्र सिंहको भूमिका बलियो नदेखिनुले समेत रवीन्द्र चुनाव लडेको खण्डमा नेता सिंहलाई भारी पर्ने सङ्केत देखिन थालेको बताउँछन् ।

रवीन्द्रलाई चुनाव जित्न पनि सहज भने देखिँदैन । उनी पनि विवेकशील साझा छोडेर भर्खर मात्रै राप्रपा प्रवेश गरेका हुन् । राजनीतिक रूपमा अस्थिर जस्तो देखिएका  उनी अहिले नेपालमा राजा र हिन्दु राज्य हुनुपर्छ भन्ने मुद्दा लिएर चुनावमा होमिदा जनताले पत्याई हाल्ने अवस्था नरहेको र सो क्षेत्रमा कांग्रसले नै पुन बाजी मार्ने काँग्रेस स्रोतको दाबी छ ।

काँग्रेसको  तर्फबाट नेता सिंह नै चुनावी मैदानमा होमिने निश्चित छ । नेता सिंह कुनै पनि हालतमा चुनाव जित्नु पर्ने दबाबमा रहेका छन् । गत अधिवेशनमा पार्टी सभापति लडेका सिंह हार बेहोरे पछी दोस्रो चरणको काँग्रेस सभापतिको चुनावमा शेरबहादुर देउवालाई सघाउन पुगेका थिए ।

लामो समय पार्टी सभापति देउवाको विपक्षमा बोल्दै नत्रीत्व परिवर्तनको मुद्दा उठाउदैँ आएका सिंह अन्त्यमा  एकाएक देउवालाई सहयोग गरेर सभापतिमा जिताएपछि पार्टी भित्र र बाहिर आलोचित बन्न पुगेका थिए । आगामी राजनीतिक यात्रा सहज बनाउनका लागि समेत नेता सिंहलाई कुनै पनि कष्टमा चुनाव जित्नु पर्ने देखिन्छ ।

महत्वका साथ हेरिने काठमाण्डौँ क्षेत्र नम्बर १ मा अन्य स्वतन्त्र उम्मेद्वार समेत रहेका कारण यो पटकको प्रतिनिधिसभाको चुनावमा रोचक भिडन्त हुने निश्चित छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा