काठमाडौँ । चक्रपथमा रहेको अथर्व बिजनेस कलेजको ‘फुड एण्ड म्युजिक फेस्टा–२०२२’ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको फुड एण्ड म्युजिक फेस्टा सोमबार सम्पन्न भएको हो ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । विद्यार्थीले सिकेका कुराहरू प्रदर्शन मार्फत देखाइएको थियो । प्राक्टिकल अन्तर्गत पर्ने उक्त प्रदर्शनी प्राक्टिकलमा मात्र सीमित नराखी अन्य शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूका लागि पनि सिकाइको विषय बनोस् भन्नका लागि कार्यक्रमको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ ।

विद्याथीहरुले आफैले तयार गरेका खानाका परिकारलाई प्रदर्शन गरेका थिए । मौलिक तथा चर्चित खानाका परिकार बनाइएको थियो । जस अन्तर्गत अवलोकनकर्ताहरूले खानाका परिकारका स्वादसंगै म्युजिक कार्यक्रममा सहभागी हुने अवसर पाएका थिए ।

खानाका परिकारको ८ वटा स्टल राखिएको थियो । जसमा अथर्वका अभिभावक, विभिन्न कलेजका विद्यार्थी लगायत शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरू अवलोकन गर्न उपस्थित भएका थिए ।

‘पछिल्लो युवा पुस्ताहरूमा खाना र म्युजिकल कन्सर्टको ट्रेन बन्न थालेको छ ।’ अथर्व बिजनेस कलेजका अध्यक्ष मनोज थापा भन्नुहुन्छ, ‘सोही कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूले एकैसाथ ‘फुड एण्ड म्युजिक फेस्टा’को आयोजना गरेका हुन् । युवा जमातहरू म्युजिकसँगै खानाका परिकारहरूमा रमाउन विभिन्न लञ्जहरुमा जाने गरेका छन् । यही ट्रेन्डलाई अवलम्बन गर्दै होटेल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको अबको व्यावसायिक मोडल यस्तो हुन जरुरी छ भन्ने सोचको विकास गर्न कलेजको संयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रम सभ्य, भव्य रूपमा सम्पन्न भएको छ । आमन्त्रण गरिएका धेरै व्यक्तिहरू हुनु भयो । सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।’

यस्तै, कार्यक्रममा चर्चित ब्यान्ड अनुप्रस्थ, गन एल्भिस, परिवर्तन ब्यान्ड, रक ब्यान्ड, सोनिगा ब्यान्ड एवं चर्चित गायक सन्देश राज कोइराला, नेपाल आइडल उपाधि विजेता सज्जा चौलागाईँ, गायिका अस्मिता अधिकारी, हास्य कलाकार सुमन कार्की र अध्ययनरत विद्यार्थीहरूले विशेष प्रस्तुति दिएका थिए ।








तस्विरः अथर्व विजनेस कलेज