काठमाडौँ– नेपालका चर्चित वैज्ञानिक राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन ठुलो धनराशीसहित पुरस्कृत हुने भएका छन् । सम्भवत नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुनले पाउन लागेक हुन् ।
गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको हो ।
नेपालका लागि पुर्याएको योगदान कारण पुस्कृत गर्न लागिएको जनाइएको छ । महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पु¥याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।
पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।
उता, चीनमा कार्यरत नेपाली वैज्ञानिक डिवी कट्टेलले सवा एक करोड बराबरको अनुसन्धानवृति पाएका छन्। चीनको अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिकहरूका लागि अनुसन्धान कोषबाट चिनियाँ मुद्रा सात लाख आरएमबी बराबरको अनुसन्धानवृति पाएका हुन्।
चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानको सिफारिसमा दुई वर्षका लागि अनुसन्धानवृति पाएको उनले बताए।
आफूले पेस गरेको परियोजना प्रस्तावमा प्रतिष्ठानबाट कठिन समीक्षा र स्क्रिनिङ प्रक्रियाहरू पार गरेपछि स्वीकृत भएको जानकारी आएको उनले बताए।
तेस्रो ध्रुव क्षेत्रहरूमा जलवायु परिवर्तनशीलता, संयन्त्र, प्रक्रियाहरू र जलवायु परिवर्तनको मूल्यांकनमा अन्तर्राष्ट्रिय अनुसन्धान सहयोगका लागि खर्च गर्ने उनले बताए।
उनी इन्स्टिच्युट अफ टिबिटिएन प्लेटौ रिसर्च, चाइना एकेडेमी अफ साइन्समा कार्यरत छन्।