काठमाडौँ । काठमाडौँ जिल्ला स्तरीय अन्तर विद्यालय फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको कपअन स्पोर्टस सेन्टरको फुटसल ग्राउन्डमा सुरु भएको हो ।

नेपालमा युरोपियन स्तरको फुटबल एकेडेमी सञ्चालन गर्दै आएको कपअन स्पोर्टस सेन्टरको सुविधा सम्पन्न ग्राउन्डमा टुर्नामेन्टको आयोजना गरिएको छ । यस कारण पनि यस पटकको टुर्नामेन्ट सभ्य, भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ खेलकुद समाजको आयोजना तथा कपअन स्पोर्टस सेन्टर र काठमाडौँ किकर्स एकेडेमीको सहकार्यमा ‘सेभेन ए साइड’ फुटसल टुर्नामेन्ट आजबाट सुरु भएको हो ।

काठमाडौँ खेलकुद समाजका अध्यक्ष बद्री भट्टराईको सभापतित्वमा बिहीबार उद्घाटन कार्यक्रम गर्दै प्रतियोगिताको सुरुवात गरिएको थियो । उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । भने कार्यक्रममा नेपाली काँग्रेसका नेता रामप्रसाद लुइँटेल, रिता बुढाथोकी, राजाराम थापा, वडा सदस्य शर्मिला केसी, स्वास्थ्य स्वयंसेवीका तारा नेपाली, केयु सिटी कलेजका माधव त्रिपाठी, अस्ट्रेलियन कलेज स्ट्राफोर्डका नेपाल प्रतिनिधि किरण जंग कार्की, पूर्व राष्ट्रिय खेलाडी चेतन घिमिरे लगायत फुटबलसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शेर्पाले लगायत आमन्त्रित अतिथिहरूले संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण पश्चात् प्रतियोगिताको औपचारिक सुरुवात भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले सहभागी खेलाडीहरूलाई शुभकामना दिएका थिए । उनले भने, कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेमा विश्वस्त छु । भव्य ग्राउन्डमा विद्यार्थीहरूले खेल खेल्ने अवसर पाउनु भएको छ । यसको सदुपयोग गर्दै आफ्नो खेल कौशलतालाई अझै राम्रो गर्नुहोला ।

टुर्नामेन्टमा काठमाडौँका १७ विद्यालयहरू सहभागी भएका छन् । विजयी प्रथम, द्वितीय टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगिता लिगकम नकआउटका आधारमा गरिनेछ । भने फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।
















तस्विरः केटिएम खबर