काठमाडौँ । स्वतन्त्रबाट निर्वाचित बनेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को काम गर्ने रफ्तारको चर्चा यत्ति बेला देश दुनियाँमा रहेको छ । देशमा हुने गरेको बेथिति अन्त्य गर्न धेरै जन्मनु पर्दछ भन्ने आवाज चौतर्फी सुनिन थालिएको छ ।
उनको कामको मात्र नभई बौद्धिकताको पनि चर्चा हुने गर्दछ । यस्तै अर्को बौद्धिकता आज प्रस्तुत गरेका छन् । काठमाडौँ महानगरले नेपाल विद्युत् प्राधिकरणको बत्तीको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा बौद्धिक रूपमा जवाफ फर्काउँदै विषय बस्तुको गम्भिर्यता बारे ध्यानाकर्षण गरेका छन् । उनले साथीले सापटी लिए जसरी मिलाउन नसकिने जवाफ फर्काएका हुन् ।
कर र महसुल फरक कुरा भएको भन्दै यी दुई विषयलाई साथीले सापटी लिएजसरी मिलाउन नसकिने जानकारी दिएका छन् ।
‘कर र महसुल फरक कुराहरू हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुई जना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन,’ बालेनले भनेका छन्, ‘नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।’
काठमाडौं महानगरले नेपाल विद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा बालेनले उक्त जवाफ दिएका हुन् ।
हेर्नुस् बालेनको फेसबुक स्टाटसः
काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।
१. काठमाडौ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।
२. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।
३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।
४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ/रहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।
५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।
योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।