काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७, हात्तिगौडामा रहेको मञ्जरी सेकेण्डरी स्कुलले एक भव्य कार्यक्रमको आयोजना गरेको छ । शनिवार विद्यार्थी, अभिभावक तथा समाजका विशिष्ट व्यक्तिहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरेको हो ।

बूढानीलकण्ठ नगरपालिकाकै उत्कृष्ट विद्यालय मध्यकै एक बनेको मञ्जरीले एसइईमा उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बाल साहित्य पुस्तक ‘कथाको खोजी’ को विमोचन कार्यक्रम गरेको थियो ।
कार्यक्रम विद्यालयका अध्यक्ष विद्या गुरुङको सभापतित्वमा गरिएको थियो ।

यस्तै, कार्यक्रमको प्रमुख अतिथिमा डा. देबी नेपाल रहेका थिए । भने राम बहादुर पहारी, प्रिन्सिपल टिका गौतम, स्कूल व्यवस्थापन टिम, डाइरेक्टर डम्बर सिंह गुरुङ, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि एवं समाजका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो खण्डमा सोइना दाहाल दोस्रो कृति ‘कथाको खोजी’ को विमोचन गरिएको थियो । दाहाल मञ्जरीकी कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए । सो पश्चात् पुस्तकको बारेमा चर्चा गरिएको थियो ।

त्यस पश्चात् मञ्जरी सेकेण्डरी स्कूलबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरूका अभिभावहरूको समेत उपस्थिति रहेको थियो ।

विद्यालयको तर्फबाट खादा र सम्मान–पत्रद्वारा एसइईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको प्रिन्सिपल टिका गौतमले केटिएम खबरलाई बताउनु भयो ।
‘कार्यक्रम सभ्य, भव्य रूपमा सम्पन्न भएको छ ।’ प्रिन्सिपल गौतमले भने, ‘हरेक वर्षको एसइई नतिजा पश्चात् उत्तीर्ण विद्यार्थीहरूको हौसलाका निम्ति सम्मान कार्यक्रम गर्दै आइरहेका छौँ । आगामी शैक्षिक यात्रा सफल बनोस् भन्ने शुभकामना सहित गरिएको यस सम्मान कार्यक्रमबाट विद्यार्थीहरूको उच्च शिक्षाका लागि थप हौसला बढ्ने आशा लिएका छौँ ।’

यस्तै, कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरूले आफ्ना अनुभवलाई शेयर गर्दै सल्लाह, सुझावसहित विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।





















तस्विरः केटिएम खबर