मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

रबिले सुरक्षा गार्डलाई भेटेपछि प्रहरीलाई नै पर्यो अर्को ठुलो आपत्, इन्स्पेक्टर र असईमाथि सुरु भयो छानबिन !


  • KTM Khabar
  • सोमबार, भाद्र २० २०७९
2.1K
SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रहरी हिरासतमा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई सोमबार भेटेपछि प्रहरीलाई नै आपतको स्थिति बनेको छ । हिरासतमा रहेका गुरुङसँग बसेर गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीलाई आपत् परेको हो ।

गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई सोमबार लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेर भेटेका थिए । भेटपछि लामिछानेले तस्बिर समेत सार्वजनिक गरेका थिए ।

तस्बिर सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र धानुकले बताएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको हो । उनले भेटको क्रममा त्यहाँ रहेका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)लाई छानबिनका लागि रानीपोखरी तानेको बताए।

‘परिसरका एसपी मैनालीको नेतृत्वमा छानबिन गर्न समिति गठन भएको छ । कानुन बमोजिम काम गर्नुपर्नेमा त्यसभन्दा बाहिर गएर गर्नुहुन्न,’ एआइजी धानुकले भने, ‘छानबिनपछि के आउँछ, त्यसपछि थाहा हुन्छ।’

शेरजंग गुरूङमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

बायोमेट्रिक्सको लागि मन्त्री श्रेष्ठ गत शुक्रबार छाया सेन्टरको भिएफएस ग्लोबलमा पुगेका थिए । त्यहाँ सुरक्षागार्ड गुरूङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भनेपछि उनका पिएसओले अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई उजुरी दिएका थिए।त्यसपछि उनी पक्राउ परेका हुन्।

मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आधारमा सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थिया े। आफ्नो जिम्मेवारी पूरा गर्दा गुरूङलाई पक्राउ गर्नु गलत भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ। मन्त्री श्रेष्ठले भने गुरूङले आफूलाई र आफ्ना अंगरक्षकलाई दुर्व्यवहार गरेको दाबी गर्दै आएका छन् । गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद पनि लिएको छ।

गुरूङले काम गर्ने गरूड सेक्युरिटिजले भने उनले कुनै गल्ती नगरेको दाबी गर्दै घटनाको सिसिटिभी फुटेज देखाउन माग गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा