काठमाडौं । राजसंस्थाको वकालत गर्दै हिडेका विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले बालकोट नै पुुगेर नेकपा एमालेका अध्यक्ष एवम् पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुको कारण खुलेको छ । एमाले अध्यक्ष ओली र विवेकशील साझा पार्टीका नेता मिश्रबीच भएको भेटवार्तालाई अर्थपुर्ण तवरबाट हेरिएको छ ।
अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन्। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।
आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकामानसिंहलाई हराउन आफूलाई सहयोग माग्न मिश्र बालकोट पुुगेका बालकोट निकट स्रोतले जनाएकाे छ ।
ओलीले आफूलाई चेस खेलेर आएको मान्छे भन्दै बास्केटबलको मैदानमा घम्साघम्सी हुने भन्दै नआत्तिन भनेको मिश्रले उल्लेख गरेका छन्। ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ ओलीको भनाई उदृत गर्दैै मिश्रले भनेका छन्।
ओलीले राती सुत्नुअघि कम्तिमा एक घन्टा पढ्ने गरेको मिश्रलाई सुनाएका थिए। ‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?” मैले सोधें। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।,’ मिश्रले भनेका छन्। ओलीले चुक्सा नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैंयाको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन्।
‘अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ’ मिश्रले भनेका छन्।