काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) माथि फेसबुक स्टाटसबाट कडा प्रहार गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि एक टेलिभिजन च्यानलले रिपोर्टसहित फोहोर व्यवस्थापनको प्रश्न उनै हर्कमाथि फर्काइदिएका थिए । यस लगत्तै उनले फेसबुक लाइभमा आएर जवाफ पनि दिए ।
ल्याण्डफिल्ड साइटको फोटो खिचेर आफ्नो खुट्टा तान्ने कोसिस गरेको भनेर उनले उल्टै सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियोको विरोध गरे र भने, ‘धरानमा कतै फोहोर देख्नुभयो भने म ५ मिनेटभित्र उठाउन लगाउँछु । ल्याण्डफिल्डको भिडियो खिचेर धरान सहरको फोहोर भन्न पाइँदैन ।
भिडियोको अन्त्यमा उनले एक गिलासमा केही पेय पदार्थ राखेर पिइरहेको देखिन्छ । त्यसलाई धेरै सामाजिक सञ्जालकर्ताहरूले मदिरा पिउँदै भिडियो लाइभमा आएको भनेर सामाजिक सञ्जाल तात्यो ।
उनले त्यसको पनि जवाफ फर्काएका छन् । आफूले ग्रिन टी खाएको र त्यसलाई मदिरा भनेर मान्छेहरूले आफू विरुद्ध खनिने काम गरेको हर्कले स्पष्टीकरण दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘ग्रिन टी र मदिरामा फरक छुट्याउन नसक्नेहरूले कालो चस्मा लगाएर हेरेका हुन् त ?’

यस्तै, केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरूबिच घोचपेच र व्यङ्ग्य चलिरहेको छ ।
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरूबिच घोचपेच चलेको हो । ‘काठमाडौँको फोहोर नउठाएसम्म चारतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।
यी दुई मेयरको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरू निर्वाचित भएका हुन् ।