काठमाडाैँ । बन्चरेडाँडाबाट काठमाडौँबासीलाई राहत मिल्ने गरी खबर आएको छ । बञ्चरेडाँडामा सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेपछि काठमाडौँबासीलाई राहत मिलेको हो ।
स्थानीयको अवरोध हटेपछि आजदेखि फोहोर विसर्जन सहज भएको हो । बिहीबार काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।
बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेका काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरले आजदेखि दैनिक तीन सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ ।
ल्याण्डफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् । महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् ।
महानगरपालिका नगरप्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार काठमाडौं उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्नेछ । पुनः स्थानीयले अवरोध नगरे एकसाता भित्रै सबै फोहोर उठिसक्छ । काठमाडौं उपत्यकाका सडक, नदी, खोला किनारामा थुप्रिएको फोहोर सकिएपछि घरभित्रको फोहोर उठाइनेछ, उनले भने ।
सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।