आइतबार, माघ २२ २०७९
ताजा अपडेट

भव्य कार्यक्रमका बिच अक्षराले गर्यो विद्यार्थीहरूका लागि नयाँ पुस्तक सार्वजनिक


  • KTM Khabar
  • शुक्रबार, भाद्र ३ २०७९
3.8K
SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने विद्यालय अक्षरा स्कूलले विद्यार्थीहरूका लागि नयाँ पुस्तक सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९, पेप्सिकोलामा रहेको अक्षराले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै ‘बनौँ संस्कारी’ पुस्तक सार्वजनिक गरेको हो ।

विद्यालय स्तरमा संस्कारयुक्त शिक्षा अपरिहार्य छ भन्दै पाठ्यक्रमको अलावा प्रमुख विषय बनाउँदै आएको अक्षरले अब भने पाठ्यक्रममा नै समावेश गर्ने भएको छ ।

वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राज अधिकारीले संयुक्त रूपमा पुस्तकलाई विमोचन गरे ।

पुस्तकबारे बोल्दै डा.कोइरालाले भने, पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गइएको छ । न्यूनतम मानवीय मूल्य बिर्सँदै गरे पनि अहिले विज्ञान, प्रविधि छ । भौतिक विकास सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन । कोइरालाले पुस्तकमा १०१ गुण हुनुपर्नेमा जोड दिए पनि सबै कार्यान्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै गुण धारण गरे भने जीवन सफल हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी सबै हाम्रा नानीबाबु असल होउन् भन्ने चाहन्छौँ तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान दिँदैनौ । हामी स्कूलको परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्छौ तर जीवनको परीक्षामा भने फेल भइरहेका छौँ । असल समाज र असल व्यक्ति निर्माण गर्न शिक्षाले मात्र सम्भव छ ।’

थपलियाले अगाडी भने, ‘संसार बदल्ने हो भने पहिला आफू बदलिनु पर्छ । आफू बदलिन संस्कार जान्नु पर्छ । संस्कार सहितको शिक्षा हुनुपर्छ ।’

संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कूलको स्थापना गरेका हौँ । स्कूलकी डाइरेक्टर, प्रिन्सिपल भट्टराईले भनिन्, ‘हाम्रो विद्यालयको उद्देश्यसँग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौँ । अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ ।’

यस्तै, लेखक अधिकारीले शिक्षा छ तर संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए । जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिँ दिनै पर्नेमा लेखक अधिकारीले जोड दिए । सन्तानको कुशलताको लागि पुस्तक लेखेको पनि उहाँले जानकारी दिए ।

पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्त्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौँ संस्कारी लगायतका विषयहरू समावेश गरिएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा