सोमबार, माघ २३ २०७९
ताजा अपडेट

एन्फा अध्यक्षको प्रमुख सल्लाहकारमा नविन पाण्डे नियुक्त


  • KTM Khabar
  • शुक्रबार, साउन २७ २०७९
2.8K
SHARES

फाइल तस्विर

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्षको प्रमुख सल्लाहकारमा नविन पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले पाण्डेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो ।

यस अघि पाण्डे एन्फाको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीमा थिए । बिहीबार बसेको एन्फाको बैठकले भने जिम्मेवारी परिवर्तन गरी सल्लाहकारमा नियुक्त गरेको छ । अब उनी अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकारको रूपमा रहने छन् ।

एन्फा महासचिव किरण राईले विज्ञप्ति जारी गर्दै पाण्डेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको जनाएका हुन् ।

विज्ञेप्तीको १९औँ नम्बरमा पाण्डेको जिम्मेवारीको विषय स्पष्ट पारिएको छ । जसमा भनिएको छ, ‘अखिल नेपाल फुटबल सङ्घका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेको जिम्मेवारी परिवर्तन गरी एन्फा अध्यक्षको प्रमुख सल्लाहकार नियुक्त गर्ने निर्णय पारित गरियो ।’

जिम्मेवारी परिवर्तनलाई लिएर केही सञ्चार माध्यमले भने अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट बर्खास्त गरेको भनी समाचार सम्प्रेषण गरेको भन्दै नविन पाण्डेले आक्रोश व्यक्त गरेका छन् । स्पष्ट रूपमा जिम्मेवारी परिवर्तन गरिएको भनी लेखिएको कुरालाई एक पक्षीय रूपमा आफ्नै ढंगबाट समाचार सम्प्रेषण गरेको भनी आक्रोश व्यक्त गरेका हुन् । उनले आफ्नो फेसबुक आइडीबाट पोस्ट गर्दै भनेका छन्, ‘एन्फाले बर्खास्त गरेको हो कि जिम्मेवारी परिवर्तन गरिदिएको हो ? एन्फाको यो निर्णयले पीत पत्रकारिता गर्ने पात्रहरू प्रस्टै चिनाइ दियो । नेपालका असली खेलकुद पत्रकारहरूप्रति धन्यवाद !’

यस्तै, पाण्डेको विषयमा आएको उक्त समाचारलाई लिएर एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । केटिएम खबरसंग शुक्रवार कुराकानी गर्दै पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीबाट परिवर्तन गरी एन्फा कार्यसमितिले प्रमुख सल्लाहकारमा नियुक्त गरेको बताएका छन् ।

‘हिजो मेरो निर्देशनबाट चल्नुहुन्थ्यो । आज मलाई सल्लाह दिने ठाउँमा आउनु भएको छ ।’ अध्यक्ष नेम्वाङले भने, ‘यसबाट नै पुष्टि हुन्छ एन्फामा नविन पाण्डेको पदोन्नति हुने गरी नियुक्त गरेका छौँ । यस कुरालाई अनेकन् विषय बनाउन कुनै जरुरी छैन । नेपाली फुटबलका लागि नविन पाण्डे अत्यन्तै आवश्यक पर्ने व्यक्ति हो । यस कारण पनि प्रमुख सल्लाहकारमा नियुक्त गरेका हौँ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा