शनिबार, असोज १५ २०७९
ताजा अपडेट

माफको अन्तर विद्यालय फुटसल टुर्नामेन्ट सम्पन्न, नोबेलले जित्यो उपाधि (फोटो फिचर)


  • KTM Khabar
  • बुधबार, साउन २५ २०७९
2.6K
SHARES

काठमाडौँ । निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा दोश्रो अन्तर विद्यालय फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । माफमा आबद्ध विद्यालयहरू बिचको फुटसल टुर्नामेन्ट आज भव्य रूपमा सम्पन्न भएको हो ।

पाँच फिटसम्म उचाइ भएका विद्यार्थीहरूले मात्र भाग लिन पाउने प्रावधान राखिएको प्रतियोगितामा १५ विद्यालयबाट १५ टिम सहभागी भएका थिए ।

धुम्बाराहीमा रहेको धन्वन्तरि फुटसलमा भएको फुटसल टुर्नामेन्टमा ग्रुप ‘ए’ देखि ‘डी’ सम्मको समूह चरणमा विभाजन गरी खेल खेलाइएको थियो ।

टुर्नामेन्टको पहिलो दिन समूह चरण अन्तर्गतको खेलहरू सम्पन्न गरिएको थियो । जसबाट ८ टिमले विजय हासिल गरेका थिए । गोल्डेन पिक हाइ स्कुल, जगत मन्दिर सेकेन्डरी स्कुल, नोबेल एकेडेमी, पिस प्वाइन्ट बोर्डिङ स्कुल, बेबिलोन नेशनल स्कुल, शाम्भवी स्कुल, लाइसियम मोडेल स्कुल र न्यु अरुणोदय स्कुल विजयी भएका थिए ।
टुर्नामेन्टको दोश्रो दिन अर्थात् आज नकआउट चरणका खेलहरू भए ।

यस्तै, आज भएको फाइनल खेलमा बेबिलोन नेशनल स्कूललाई पछि पार्दै नोबेल एकेडेमीले फुटसल टुर्नामेन्टको उपाधि जित्न सफल भयो ।

गोल्डेन पिक हाई स्कूल र लाइसियम मोडेल स्कूलले तेश्रो स्थान हासिल गरे ।

आज नै टुर्नामेन्टको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै विजयी टिमलाई पुरस्कृत गरियो ।

विजयी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

विजयी टिम तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले हस्तान्तरण गरेका थिए ।

खेलाडीहरूको खेल कौशललाई मूल्याङ्कन गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडी चयन गरिएको थियो । जस अन्तर्गत वेस्ट प्लेयर विकास मुखिया, हाइएस्ट स्कोरर अनुज पाण्डे, वेस्ट गोलकिपर अनिल साहुखल चुनिएका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका सभापति प्रज्वल कोइरालाले विजयी टिमलाई बधाई दिँदै टुर्नामेन्ट भव्य बनाउन भूमिका निर्वाह गर्ने समस्त टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

‘विद्यार्थीहरूको खेलकुद जीवनलाई थप प्रोत्साह गर्नका निम्ति फुटसल टुर्नामेन्टको आयोजना गरिएको हो । यसमा माफ टिम सफल भएको छ ।’ अध्यक्ष कोइरालाले भन्नुभयो, ‘प्रतियोगितामा सहभागी टिम कसैले पनि हार बेहोर्नु परेन । प्राविधिक रूपमा हार र जित भनिएता पनि अनुभवको हिसाबले टुर्नामेन्टमा सहभागी हुने सबै विद्यार्थी खेलाडीहरूले सिक्ने अवसर प्राप्त गर्नु भयो । त्यस कारण सबैले जित्नु भएको छ ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले विजयी टिमलाई बधाई दिँदै स–साना बाबुहरूको खेल हेर्दा आफ्नो बालापनको याद आएको बताउनु भयो ।

माफका अध्यक्ष कोइराला र आफू सँगै पढ्ने र फुटबल खेल्ने साथी भएको समेत खुलाए । खड्काले भन्नुभयो, ‘सानो उमेरमा प्रज्वल र मैले फुटबल खेलेको याद आयो । ब्लाडर हालेर बनाइएको फुटबल खेलिन्थ्यो । आज त्यस कुरा स्मरण गरे । माफले आयोजना यस टुर्नामेन्ट खेलाडी बन्न चाहने विद्यार्थीहरूको लागि महत्त्वपूर्ण टुर्नामेन्ट बनेको छ । यस खाले प्रतियोगितात्मक गतिविधि विद्यालय स्तरमा झनै आवश्यक छ ।’

कार्यक्रममा माफका निवर्तमान अध्यक्ष राजन आचार्य, प्याब्सन काठमाडौँकी सहसचिव ईशु गुरुङ, इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहाल, माफ कार्यसमिति लगायतको उपस्थिति रहेको थियो ।

टुर्नामेन्टलाई माफका ईसिए संयोजक रेगन सिंहले संयोजन गरेका थिए ।

तस्विरः केटिएम खबर डटकम


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा