धनुषा । नेसनल प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा पब्लिक यूथ क्याम्पस धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि साङ्घातिक आक्रमण भएको छ । कार्यकक्षमा नै रहेको अवस्थामा अज्ञात समूहले साउन १७ गते उनीमाथि साङ्घातिक आक्रमण गरेको हो ।
बिहान १० बजे क्याम्पसमा त्रि.वि. अन्तर्गत रहेको तीन बर्षे बिए दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको बेला अज्ञात समूहले उनीमाथि आक्रमण गरेको थियो ।
आक्रमणमा परि उनको टाउकामा गम्भीर चोट लागेको छ । भने शरीरका अन्य भागमा समेत नीलडाम बनेको छ । उनको अहिले एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सोही घटनाको विरोध गर्दै निजी विद्यालयहरूको छाता सङ्गठन नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले दोषी उपर कडाभन्दा कडाको माग गरेको छन् ।
हमालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झामाथि सुनियोजित तथा शङ्कास्पद हमालले शिक्षा क्षेत्रमा विभिन्न शङ्का तथा उपशङ्का उब्जाएको छ । नेसनल प्याब्सनको केन्द्रीय भूमिकामा रहनु भएका अनुशासित, कर्तव्यनिष्ठ, कुशल संगठक, शिक्षा प्रेमी झा मधेस प्रदेशका एक उज्ज्वल नक्षत्र हुनुहुन्छ । शिक्षा क्षेत्रका कर्मठ सिपाही प्रतिको अप्रत्याशित र अकल्पनीय आक्रमणले सिङ्गो नेसनल प्याब्सनलाई मर्माहत बनाएको छ । घटित घटनाको भर्त्सना गर्दे सूक्ष्म अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई दोषी उपर कडा कारबाही गर्न समेत सरकार समक्ष केन्द्रीय समितिले जोडदार माग गरेको छ ।’
यस्तै विज्ञप्तिमा अगाडी लेखिएको छ, ‘घटनाको यथाशीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी उपर कडा कारबाहीको लागि जोडदार माग गर्दै झाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
