काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अर्को चेतावनीले सिंगो युरोपमा त्रास बढेको छ । पुटिनले युरोपमा आपूर्ति हुने रुसी प्राकृतिक ग्यासको बाहब पश्चिमकै गल्तीको कारण घटेको र यो अझै घट्ने चेतावनी दिएपछि युरोपमा अर्को त्रास बढेको हो ।
पुटिनको यो भनाइबाट युरोपेली संघमाथि थप दबाब सिर्जना गरेको छ । रुसले युरोपेली संघलाई आपुर्ति गर्ने ग्यास रोकेमा आगामी जाडोमा युरोपमा ठूलो असर पर्ने संघको डर छ । त्यसो भएमा आर्थिक तथा राजनीतिक उथलपुथल ल्याउनेछ । बुधबार युरोपेली संघले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने विषयमा आपतकालिन बैठक बोलाएका छ ।
विज्ञले अहिले नै युरोपले रुसी ग्यासमाथिको निर्भरता कम नगरेर सबैभन्दा आवश्यक पर्ने बेला९जाडो०मा रुसले आपुर्ति कटौती गरे गाह्रो पर्ने बताएका छन् । पुटिनले पश्चिमले रुसी तेलको मूल्यमा सिमा तोक्ने योजनाबारे पनि टिप्पणी गरेका छन् । यस कदमले विश्व तेल बजार अस्थिर हुने र तेलको मुल्य बढ्ने उनले चेतावनी दिएका हुन् ।
‘केही अचम्मलाग्दा विचारहरु पनि आइरहेका छन् । रुसले कति तेल निर्यात गर्न पाउने भन्नेमा सिमा तोक्ने, मुल्यमा पनि सिमा तोक्ने बताइएको छ । तर यसले पनि मुल्य आकाशिने बाहेक केही प्रभाव पार्दैन ,’ पुटिनले भने ।
फेब्रुअरी २४ मा युक्रेनमाथि रुसी फौजले आक्रमण गरेपछि युरोपेली संघले रुसी कोइला तथा अधिकाशं तेलमा यो वर्षको अन्तिमबाट लागु हुने गरी प्रतिबन्ध लगायो । तर २७ देशको यो समूहले रुसी प्राकृतिक ग्यासमाथि भने प्रतिबन्ध लगाएको छैन । युरोपका उद्योग, विद्युत गृह रुसी ग्यासमा निर्भर छन् ।
यता रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले जर्मनीलाई पठाइरहेको ग्यास ६० प्रतिशतले घटाएको छ । यो अवस्था राजनीतिक प्रतिशोधभन्दा पनि प्राविधिक समस्याका कारण उत्पन्न भएको उसले बताएको छ ।
युक्रेन युद्धपछि युरोपेली संघले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएकाले बदलामा रुसले ग्यास रोक्ला भन्ने डर देखिन्छ । तर रुसले भने प्राविधिक समस्या नआई त्यस्तै कदम नउठाउने बताएका छन्, जसप्रति युरोप विश्वस्त हुन सकेको छैन । अल–जजिरा