काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको उनको आरोप छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए ।
‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।
सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।
आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।’
