शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौँका मेयर बालेनले हाने आफ्नै खुट्टामा आफै बन्चरो !


  • आइतबार, असार २६ २०७९
22.8K
SHARES

फाइल तस्विर

काठमाडौं – निर्वाचित भएको दुइ महिनापनी नपुक्दै काठमाडौं महानगरपालिकाका मेयेर बालेन साहले गरेको दुइटा निर्णयले आजसम्म कमाएको लोकप्रियतालाई ह्वात्तै घटाएका छन्।

गत शुक्रबार र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णय र त्यसअघि फुटपाथमा मकै बेचेर गुजारा गर्ने दम्पतीमाथि महानगर प्रहरी गरेको हर्कतले उनको लोकप्रियता ह्वात्तै घटेको हो ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) नेतृत्वले लिएको निर्णयअनुसार महानगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरको यो निर्णयले केही समयपछि नै सामाजिक सञ्जालमा हलचल मच्चिन थाल्यो । कमैले मेयर बालेनको निर्णयलाई समर्थन गरे भने अधिकांशले विरोध गरे ।

बालेनको समर्थनमा उत्रिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु एकाएक उनीमाथि आक्रोशित बने । हुन त मेयर बालेनका अधिकांश समर्थक युवा नै छन् । काठमाडौंको मेयरमा चुनाव लड्नेदेखि मेयर निर्वाचित भइसक्दासम्म उनका लागि आएका समर्थनका आवाजले सामाजिक सञ्जाल भरिन्थे । तर धेरैले आशा गरेका मेयरले गरेका पछिल्ला निर्णयहरुले उनीहरुलाई नै निराश बनाएको देखिन्छ । चाहे फुटपाथमा मकै बेच्नेमाथिको ज्यादती होस् या दिवंगत र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णयमा होस् ।

बालेनको यस निर्णयमाथि आक्रोश पोख्दै कैयौँले आत्महत्या गर्नेको सालिक बनाउन राज्यको बजेट खर्च नहुनुपर्ने बताइरहेका छन् । बालेनले गरेका पछिल्लो निर्णय र उनको ब्यबहारले आफ्नै खुट्टामा आफै बन्चरो बजारेको भनी उनका समर्थकहरुको बिचमा चर्चा हुन थालेको छ ।

महानगरले आर्थिक वर्ष ०७९/८० को कुल २५ अर्ब ४१ करोड ९६ लाख बजेटमध्ये यम बुद्धको सालिक बनाउन १५ लाख रुपैयाँ बजेट छुट्याइयो ।

चर्को आलोचना भएपछि निर्णय लिएको भोलिपल्टै बालेनले निर्णय फेरबदल गर्दै आफ्नो व्यक्तिगत तबलबाट सालिक बनाउने घोषणा गरे ।

शनिबार विहान बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरुको दिन शुभ रहोस् ।”

बालेनले यस्तो बताइरहँदा पनि जनआक्रोश साम्य भएन । उनको यही स्ट्याटसमा कमेन्ट गर्दै बहुसंख्यक सञ्जाल प्रयोगकर्ताले बालेनको आलोचना गरेका छन् ।

फेसबुक प्रयोगकर्ता गंगाराम खनाल लेख्छन्, “मेयर जस्तो पदमा बसेर केटाकेटीजस्तो बुद्धि गर्न पाइँदैन ।”

त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता सरोज बस्नेतले कमेन्टमा लेखेका छन्, “पर्सनल पैसाले सालिक बनाएर आफ्नै जग्गामा राख्नुस् सार्वजनिक स्थानमा हैन ।”

अधिकांश फेसबुक प्रयोगकर्ताहरुले आफ्नै तलबले बनाए पनि यम बुद्धको सालिक सार्वजनिक स्थलमा राख्न नहुने भन्दै आक्रोश पोखेका छन् । सालिक बनाउने नै भए यम बुद्धको जन्मथलो धनकुटामा बनाउनुपर्ने समेत कमेन्ट गरेका छन् ।

त्यस्तै बालेनले बजेटको दुरुपयोग गरेको र सालिकको साटो विपन्न वर्गका नागरिकलाई सहयोग गर्नुपर्ने दिएका छन् ।

फेसबुक प्रयोगकर्ता लोकबहादुर कार्कीले तलबले सालिक निर्माण गर्नुभन्दा अपांगता भएका दृष्टिविहीन, पैसाको अभावमा उपचार गर्न नपाएका नागरिक गरिब दिनदुःखीलाई सहयोग गरे लाभदायक हुने सुझाव दिएका छन् ।

आफूलाई इन्जिनियरका रुपमा बढी चिनाउने बालेनको पृष्ठभूमि पनि र्‍याप नै हो । महानगर स्रोतले बालेनको ठाडो निर्देशनमा सालिक बनाउन १५ लाख छुट्याउने प्रस्ताव अघि बढाइएको थियो ।

बालेनको समर्थन गर्नेमध्ये कलाकार तथा निर्देशक निश्चल बस्नेत यसो लेख्छन्, “यम बुद्धको सालिक सानो होस् तर त्यो सालिकले देखाउने सपना ठूलो होस्, थोरै रकम सालिक निर्माणमा र बाँकी रकम नेपालको हिपहप, नेपहपका उदाउँदै गरेका कलाकारहरुलाई अझ प्रगतिशील बनाउन फण्ड गरियोस् नामले यमबुद्ध होइन कामले यमबुद्ध बन्न खोज्नेलाई अवसर बनोस् यो । कलाकार बन्न गाह्रो छ, बनिसकेपछि झनै गाह्रो छ राज्यले अलिकति साथ त दिनैपर्छजस्तो लाग्छ ।”

यसअघि सालिक बनाउनकै लागि यति धेरै बजेट विनियोजन नभएको महानगरका कर्मचारीहरु बताउँछन् ।

यम बुद्धले लण्डनमा आत्महत्या गरेका थिए । वास्तविक नाम अनिल अधिकारी रहेका यम बुद्धलाई नेपालमा हिपहपका गुरु मानिन्छ ।

चुनावअघि सजिलैसँग काठमाडौंको फुटपाथ व्यापार व्यवस्थित गर्ने र फुटपाथ ठूलो समस्या नरहेको बताउने बालेन नेतृत्वकै निर्देशनमा नगर प्रहरीले बालुवाटार र थापाथलीमा मकै बेच्नेमाथि लछारपछार गर्‍यो ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरीद्वारा मकै बेच्नेमाथि भएको लछारपछार विवादमा मुछिएसँगै बालेनको चर्को आलोचना भयो ।

बालेनले महानगरको हकहित भन्दा व्यक्तिगत चाहनामा एकलौटी निर्णय गरेको महानगरका कर्मचारीहरु बताउँछन् । कतिपय फेसबुक प्रयोगकर्ताहरु विश्लेषक विज्ञहरुले जनप्रतिनिधिको तलब नहुने बताएका छन् ।

स्थानीय तहका प्रतिनिधिहरुले प्रदेश सरकार निर्धारण गरेको कानुनी मापदण्ड अनुसार सेवासुविधा पाउने प्रावधान छ । वाग्मती प्रदेशले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रुपैयाँ हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा