काठमाडौं – बजेट प्रस्तुत हुने दिनको अघिल्लो राती अनाधिकृत व्यक्तिले मन्त्रालयमा प्रबेश गरेर करका दरमा हेरफेरी गरेको भन्दै चर्को आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । नेकपा एमाले, नागरिक समाज लगायतले मन्त्रीको राजीनामा मागेपछि शर्माले राजीनामा दिएका हुन् ।
यही अभियोगमा शर्मासहित ८ जनाविरुद्धको उजुरी प्रहरीमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शर्मासहित ८ जनाले राजद्रोह गरेको भन्दै प्रहरीमा उजुरी लिएर गएको हो । तर राप्रपाको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । ‘माथिको आदेश नभएको’ भन्दै जाहेरी दर्ता नगरिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
राप्रपाले अर्थमन्त्रीसहित ८ जनाले राज्यविरुद्धको अपराध गरेको आरोपमा जाहेरी दिन खोजेको थियो । जाहेरी बोकेर राप्रपाका प्रवक्ता तथा सुशासन विभाग प्रमुख शाही टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, आफूले लगेको जाहेरी दर्ता नगरिएको भन्दै शाहीले आक्रोश व्यक्त गरेका छन् ।
उनले पत्रकारसँग भने, ‘नेपाल प्रहरी अर्थमन्त्रीसँग डरायो । एउटा सामान्य जनतालाई भाटा हान्दै थुन्ने प्रहरी देशको ढुकुटीमाथि खेलबाड गर्ने जनार्दन शर्मासँग डराएको छ । यो राष्ट्रको प्रहरी हो कि जनार्दन शर्माको सेक्युरिटी गार्ड हो ?’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।