काठमाडौँ – विदेश अध्ययनका लागि चाहिने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को शुल्क ह्वात्तै बढ्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसीको शुल्क ह्वात्तै बढाएर दोब्बर बनाउने भएको हो ।
हाल एउटा एनओसी जारी गरेवापत विद्यार्थीले दुई हजार रुपैयाँ शुल्क तिर्न पर्ने हुन्छ । अब साउनबाट चार हजार बनाउने तयारी थालिएको शिक्षा मन्त्रालय अन्तरगतको एनओसी शाखाले जनाएको छ ।
सरकारले २०७७ साल भदौदेखि २०७९ असार २० गतेसम्म एनओसीबाट २८ करोड १५ लाख राजश्व संकलन गरेको छ । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म (१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ । यो गत वर्षको तथ्यांक भन्दा करिब दुई गुणा बढी हो ।
एनओसी लिनेमध्ये सबैभन्दा बढी अष्ट्रेलिया जान इच्छुक भएको एनओसी शाखा प्रमुख हरिप्रसाद निरौलाले बताए । उनका अनुसार ८२ हजार ४०९ एनओसी मध्ये ५९ हजार ७४८ अष्ट्रेलियाका लागि जारी भएका छन् ।
त्यसैगरी जापानका लागि ९ हजार ४३५, अमेरिकाका लागि दुई हजार ४१९, बेलायतका लागि एक हजार ७२२, रसियाका लागि ४४६, थाइल्यान्डका लागि १२२ वटा एनओसी जारी भएको छ ।
तर एनओसी जारी भएको संख्या बराबर नै नेपाली विद्यार्थी विदेश नजाने शाखाको भनाइ छ ।