काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल बुधबार भेटिएपछि कुन सक्कली भन्ने कुरामा आम रुपमा चाँसाे रहेकाे बढेकाे थियाे । तस्बिरको दायाँपट्टी देखिएका पल्सर मोटरसाइकलवाला सक्कली सवारीधनी भएको तथ्य बाहिर आएकाे छ ।
हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल रहेको तथ्य बाहिरिएको हो । सत्यालले सो मोटरसाइकल आफ्नो भएको दाबी गर्दै कागजपत्रसमेत सामाजिक सञ्जालमा राखेका छन् ।
आफ्नो नम्बरको अर्को मोटरसाइकल भेटिएपछि सत्याल प्रहरीको सम्पर्कमा गएका थिए । अर्का व्यक्ति भने फरार छन् । बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल गौशालाको जाममा भेटिएका थिए । एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको थियो ।
गौशाला चोकमा जाम भएको समयमा एकै नम्बर प्लेट भएका मोटरसाइकल एकैसाथ देखिएपछि मानिसहरुले फोटो खिचे। फोटो निकै भाइरल भयाे । मानिसहरुले जुम्ल्याहा मोटरसाइकल भेटियोसम्म भन्न भ्याए । तस्बिरमा देखिएअनुसार दुवै मोटरसाइकलका चालकले रेनकोट ओडेका छन् र एक जनाले भने नम्बर प्लेट एउटै देखेपछि आश्चर्यमा परेर अर्को बाइकतर्फ हेरिरहेको देखिएको छ। सो दुवै मोटरसाइकलको प्लेटमा एकै नम्बर ‘बागमती प्रदेश ०२, ०२२ प, २३ ८०’ थियाे ।
एकै नम्बर प्लेटका मोटरसाइकलको फोटो भाइरल भएपछि ट्राफिक प्रहरीले यो विषयमा अनुसन्धान सुरु गर्याे । प्रहरीका अनुसार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिएकाको साथमा कागजपत्र रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव दासले बताएका छन् । उनका अनुसार नियन्त्रणमा परेका व्यक्तिसँग मोटरसाइकलको सम्पूर्ण कागजात छ र सो नम्बर प्लेट उनकै सवारीको हो । प्रहरीका अनुसार अर्का व्यक्ति जसको नम्बर प्लेट त्यही छ उनको सवारी नम्बर नक्कली हुनसक्छ।