काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला नपर्दा केही थप तथ्य खुल्न सकेका छैनन् । प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै पक्राउ परेका उनका प्रेमीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए । उनका अनुसार दिलमायाको घाँटीमा निलडाम देखिएको थियो ।
गत शनिबार बिहान पौने ११ बजे दिलमाया कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।
प्रहरीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि, मोबाइलको ‘लोकेसन’ देखिएको छैन ।
“मोबाइल फेला नपर्दा उनी आफैँले फेसबुकमा ‘सुसाइड नोट’ लेखेकी हुन् वा हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठले भन्नेमा प्रहरी अनुसन्धान केन्द्रित छ ।” डीएसपी मिश्रले भने, “मोबाइलको खोजी कार्य जारी छ । मोबाइल नभेटिए पनि प्राविधिक अनुसन्धान जारी छ । फेसबुकलगायत विषयमा पनि अनुसन्धान गरिरहेका छौँ ।” सूर्यले नै स्टाटस पोस्ट गरेर मोबाइल कतै फालेको हुनसक्ने प्रहरी आशंका छ । आफू बच्नका लागि उनले स्टाटस पोस्ट गरेको हुनसक्ने प्रहरी अधिकारीहरूको अनुमान छ ।
पतिसँग सम्बन्धविच्छेद भएपछि दिलमाया सूर्यसँगै ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी थिइन् । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको थियो । दिलमायासँगै बस्दै आए पनि सूर्यले अर्कैसँग विवाह गरेको खुलेको छ ।
प्रहरीले सुरुआती समयमा प्रहरीले दिलमायाले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो । तर, घरधनीले शुक्रबार राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो । सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेतापनि उनको मोबाइलको लोकेसन र मोटरसाइकल कोठा अगाडि सीसी क्यामेरामा देखिएपछि उनले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए ।
सूर्यले बयानका क्रममा बिहान ३–४ बजेतिर उनी ब्युँझिएपछि झुन्डिरहेको देखेपछि डोरी खोलेको बताउँदै त्यसपछि, आफू आत्तिएर सल लिएर निस्किएको बताएका छन् । उनले सल महाराजगञ्जमा कतारको भिसा सेन्टर छेउमा रहेको नालीमा फालेको पाइएको छ । उनकै बयानका आधारमा प्रहरीले सल बरामद गरेको छ ।