पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।
प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’
तर नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् ।
वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।
भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’