शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

देखिन थाल्यो प्रेम आलेका निर्णयहरुको रिजल्ट !


  • मंगलबार, असार १४ २०७९
9.2K
SHARES

फाइल तस्विर

निबर्तमान पर्यटन मन्त्री प्रेम आलेले मन्त्री पदमा रहदा गरेका निर्णयहरुको रिजल्ट देखिन थालेका छन् । नागरिक उड्ययन प्राधिकरणले यही असार ५ गते हेलिकप्टर र हवाइजहाजका लागि तोकिएको आधार विमानस्थलमा रात्री पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न दिएको निर्देशन आजबाट लागू भएपछि मन्त्री आलेले गरेको निर्णयले पूर्णता पाएको हो ।

प्रेम आले मन्त्री हुदा दिएको निर्देशन कार्यान्वयनका कारण रात्री पार्किङ गरेर सोहि स्थानबाट मौसमको अध्यन गरेर उडान भर्ने भएपछि पार्किङ समस्या र आकस्मिक ल्याण्डीङ नहुदा हुने दुर्घटना टरेको छ।

सरकारले असार १३ (सोमबार) बाट काठमाडौंबाहिरका विमानस्थलमा रात्री पार्किङका लागि पुग्नुपर्ने र पहिलो उडान त्यहीँबाट गर्नुपर्ने भनेसँगै करिब ९० प्रतिशत विमान बाहिर जान थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।हिजोबाटै विमानहरू सरकारले तोकिदिएको आधार विमानस्थलमा रात्री पार्किङका लागि गइसकेका छन्।

नागरिक उड्ययन प्राधिकरणले यही असार ५ गते हेलिकप्टर र हवाइजहाज लागि तोकिएको आधार विमानस्थलमा रात्री पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो। जसअनुसार तोकिएका हेलिकप्टरले असार ७ गतेबाट र हवाइजहाजहरूले असार १३ गतेबाट राती बास बस्न अनिवार्य काठमाडौंबाहिरका विमानस्थल जानुपर्ने निर्देशन थियो।

यससँगै बुद्ध एयरले काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलबाट उडान सुरू गरेको जनाएको छ। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कुमार कर्णका अनुसार बुद्धका ६ वटा जहाज सोमबार राती सरकारले तोकेको ५ वटा विमानस्थल पुगेका हुन्।

भैरहवामा दुई, धनगढीमा एक, सिमरा एक, पोखरा एक र जनकपुरमा एक गरी ५ वटा विमानस्थलमा ६ वटा बुद्धका जहाज रात्री पार्किङका लागि गइरहेका छन्, उनले सेतोपाटीलाई भने।

त्यस्तै श्री एयरलाइन्सका तीन वटा जहाज काठमाडौंबाहिर रात्री पार्किङका लागि पुगेका छन्। विराटनगर, भैरहवा र नेपालगञ्ज विमानस्थलमा तीन वटा जहाज सोमबार बेलुकाबाटै जान सुरू गरेको एयरलाइन्सले जनाएको छ।

प्राधिकरणले श्रीका ६ वटा जहाज काठमाडौंबाहिर पार्किङका लागि लैजान भनेको थियो।

६ वटा जहाजको रात्री पार्किङ बेस बाहिर तोकिएको थियो। तर अहिले ३ वटा जहाज मर्मतको काम भइरहेकाले तीन-तीन वटा मात्र जान थालेका छन्। बिस्तारै सबै जान्छन्, एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकेको थियो। जसअनुसार काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर रात्री पार्किङका लागि पुग्नुपर्ने भनिएको थियो।

हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्नेछ। जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एक तिहाई काठमाडौं विमानस्थलमा र दुई तिहाईलाई बाहिरका लागि आधार तोकिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला बताउँछन्।

सरकारले तोकेको आधार विमानस्थलमा बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन वटा, श्री एयरका आठमध्ये छ वटा काठमाडौं बाहिरका विमानस्थलमा जानुपर्नेछ। त्यस्तै सौर्यका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर पुग्नुपर्ने भनिएको थियो।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नुपर्ने निर्देशन थियो।

यीमध्ये कुन कम्पनीका कति जहाज सोमबारबाटै पार्किङका लागि काठमाडौंबाहिर पुगे भन्नेबारे बुधबार मात्र पूर्ण जानकारी आउने विमानस्थलले जनाएको छ। हेलिकप्टरहरू पनि रात्री पार्किङका लागि बाहिरका विमानस्थलमा लैजान सुरू गरिसकेको प्रवक्ता सिटौलाले बताए।

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्नेछ। जसमा प्रभुका ६ वटै पोखरा विमानस्थल, श्रीका ८ वटामध्ये ३ वटा बाहिर, नेपालगन्ज विमानस्थलमा सिम्रिकका ५ वटै हेलिकप्टर रात्री पार्किङका लागि पुग्नुपर्ने निर्देशन थियो।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्ने गरी प्राधिकरणले आधार विमानस्थल तोकेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा