काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गरेका छन् । बुधबार संक्षिप्त कुराकानी गर्दै न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गरेका हुन् ।
आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर त्यसमा आफूले अस्वीकार गरी तथ्य र प्रमाणका आधारमा आदेश दिएको बताए । उनले भने, ‘मलाई फोन आएपछि कुराकानी गरेको थिएँ । उनले आफ्नो कुरा गरिरहेँ, मैले यो मान्छेले को कोसँग कुराकानी गरेको रहेछ र को कोसँग डिल गरेको रहेछ भनेर सुन्नका लागि अँ अँ र हो हो भनेको हो । मैले पैसाको डिल गरेको छैन र कसैसँग लिएको पनि छैन । न्यायाधीश आफैँले अनुसन्धान गर्न सक्ने भएकाले यो मुद्दालाई कसले कसरी लिएका रहेछन् भनेर उनको अफर सुनेकोसम्म हो । मैले कुनै डिल गरेको वा लाभ लिएको छैन । मलाई फसाउनका लागि कसैले डिजाइन गरेको हुनुपर्छ ।यसका लागि छानबिन गर्न म आग्रह गर्छु ।’
सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।
सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।
यद्यपि न्यायाधीश कोइराला भने घुस लिने सम्बन्धमा डराउँदै मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ भन्ने लगायतका कुरा गरिरहेको अडियोमा सुन्न सकिन्छ । तर अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् ।