तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा पुगेका स्थानीयले शव चिनिने अवस्थामा नरहेको बताएका छन् ।
स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’
उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए । पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।