११ जेठ, काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्रमा कांग्रेसको कन्तबिजोग भएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकामा कांग्रेसले नमिठो हार व्यहोरेसंगै कांग्रेसकाे कन्तबिजोग भएको हो ।
क्षेत्र नम्बर ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकामा वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछ ।
क्षेत्र नम्बर ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिकाको सबै वडाको वडाध्यक्ष एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी बन्दा काँग्रेसका उम्मेदवार उत्तम खड्काले ४७३ मत पाए ।
वडा नम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मत प्राप्त गरे ।
वडा नम्बर ८ मा सुमन तामाङ, वडा नम्बर ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए । वडा नम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मत प्राप्त गरे ।
वडा नम्बर ९ मा एमालेकी त्रिपाठीले ९४८ मतसहित विजयी बन्दा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत प्राप्त गरे । वडा नम्बर १० मा एमालेका नवराज भट्टराईले २५८१ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत प्राप्त गरे ।
वडा नम्बर ११ मा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत प्राप्त गरे । वडा नम्बर १२ मा एमालेका शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले क्रमशः १३७९ र १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका सुनित चालिसे र भरत श्रेष्ठले क्रमशः ११४२ र १४७३ मत प्राप्त गरे ।