शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रभु शाहले देखाईदिए प्रचण्डलाई पावर !


  • सोमबार, जेष्ठ ९ २०७९
7.4K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले बनेका प्रभु शाहले आफ्नो पावर देखाएका छन् । स्थानीय तहको निर्वाचनमा शाहले माओवादी केन्द्रलाई पराजित गराएर आफ्नो पावर सो गरेका हुन् ।

मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको नेकपा माओवादी केन्द्र यस पटक स्थानीय तहको निर्वाचनमा प्रभु शाहकै कारण निकै कमजोर देखिएको छ । गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख, अध्यक्ष र ९ वटामा उपप्रमुख, उपाध्यक्ष मात्रै जितेको छ ।

२०७४ सालको निर्वाचनमा माओवादीले मधेसबाट २१ स्थानीय तह जितेको थियो । पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशमा एमालेले २३ स्थानीय तह, नेपाली काँग्रेसले ४४ स्थानीय तह, जनता समाजवादी पार्टीले २४ स्थानीय तह, लोकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा जितेको छ । यो प्रदेशका अझै १६ स्थानीय तहको मतगणना जारी छ ।

साह माओवादीमा हुँदा मधेसमा उनको जबरजस्त प्रभाव थियो । उनी एमाले प्रवेश गरेपछि त्यो लेबलको नेताको अभाव देखिएको छ । उनको स्थान अरू कुनै माओवादी नेताले लिन सकेका छैनन् । एक ढंगले माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा जस्तै देखिएको छ ।

‘मधेसमा चुनाव लड्न सबै पार्टीले दुई वर्षदेखि तयारी गरे, माओवादीमा ठिक उल्टो फुट तथा विभाजन भयो । प्रभु साहजस्ता नेता एमालेमा गए । माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा पुग्यो । पार्टी आन्तरिक कलहमा फस्यो,’ नेकपा माओवादी केन्द्र मद्येश प्रदेशका इन्चार्ज गणेश साहले भने, ‘मधेसमा निर्वाचनका बेला पैसाको निकै ठूलो चलखेल भयो । पार्टीका तीनै तहले स्रोतको व्यवस्थापन गर्न सकेन । प्रायजसो स्थानीय तहमा पहिले जितेकालाई दोहोर्‍यायौं तर जनताले रुचाएनन् ।’

शाहको गृह जिल्ला रौतहटमा माओवादीले एउटा मात्र पालिका जितेको छ । यसअघि ४ वटा पालिका जितेर माओवादीले आफ्ना्े दह्रो उपस्थिति देखाएको थियो । यो पटक माओवादीले रौतहटको दुर्गाभगवती गाउँपालिकामा जितेको छ भने कटहरावा नगरपालिका, मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिका गुमाएको छ ।

पर्सामा माओवादी निल भएको छ भने बारामा जितपुर सिमरा उपमहानगरपालिकामा जित दर्ता गराएको छ । ७४ सालको स्थानीय तहको निर्वाचमा बारामा माओवादी निल भएको थियो भने पर्सामा तीन वटा पालिका जितेको थियो ।

माओवादी सर्लाहीमा पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । २०७४ सालमा तीन स्थानीय तह जितेको उसले यो पटक एक पालिका थप्दै चारमा जित दर्ता गराएको छ । माओवादी महोत्तरीमा पनि यो पटक निल भएको छ । २०७४ मा चार पालिका जितेको उसले यो पटक कुनै पनि पालिका जित्न सकेन ।

प्रदेशको राजधानी समेत रहेको धनुषामा माओवादी आफ्नो पकड गुमाएको छ । २०७४ मा दुई वटा पालिका जितेको माओवादीले विदेह नगरपालिका, शहीद नगरपालिका गुमाएको छ । यसको बदलामा सवैला नगरपालिकामा जित दर्ता गराएको छ ।

यो पटकको निर्वाचनमा माओवादीलाई सबैभन्दा धेरै क्षेति सिरहामा भएको छ । २०७४ को निर्वाचनमा ६ वटा पालिका जितेको उसले यो पटक बल्लबल्ल एक पालिका जितेको छ । अघिल्लो निर्वाचनमा निल भएको सप्तरीमा यो पटक एउटा पालिकामा जित दर्ता गराएको छ । यसरी मद्येशमा माओवादी पराजित हुनुमा प्रभु शाह फ्याक्टरले काम गरेको माओवादी केन्द्रका नेताहरुको विश्लेषण छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा