शनिबार, असार १८ २०७९
ताजा अपडेट

गगनको केही लागेन, अन्ततः एमाले उम्मेदवारले नै मारे बाजी !


  • KTM Khabar
  • मंगलबार, जेष्ठ ३ २०७९
12.2K
SHARES

३ जेठ, काठमाडौँ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा वडाध्यक्ष सहित एमाले उम्मेदवारको प्यानल विजयी भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सर्वाधिक मत सहित विजयी भएका नवराज भट्टराई यस पटक पनि अघिल्लो विरासत कायम गर्दै जित हासिल गरेका छन् । वडाध्यक्षमा भट्टराई सहित पुरै टिम विजयी भएको हो ।

वडा नम्बर १० बूढानीलकण्ठ नगरपालिकाकै धेरै मतदाता भएको वडा हो । मेयर, उपमेयर कसले जित्न ? भन्ने आकलन वडा नम्बर १० बाट सुरु हुन्छ । सङ्घीय निर्वाचनको काठमाडौँको क्षेत्र नम्बर ४ र ५ अन्तर्गत पर्दछ बूढानीलकण्ठ नगरपालिका । वडा नम्बर १० भने क्षेत्र नम्बर ४ मा पर्दछ । यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सङ्घीय निर्वाचनमा विजयी हुँदै आएका छन् ।

 

यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी गराउन घरदैलो कार्यक्रमदेखि व्यक्तिगत भेटघाट समेतमा थापा लागि परेका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नम्बर १० बाट कांग्रेस उम्मेदवारले नमिठो हार व्यहोर्नु परेको थियो । यस कारण जित्नै पर्ने दबाब कांग्रेसलाई थियो । हेभिवेट उम्मेदवार भन्दै डोर प्रसाद आचार्यलाई सर्वसम्मत चयन गर्दै चुनावी मैदानमा पठाएको थियो । वडा नम्बर १० लाई महामन्त्री थापाले विशेष गतिविधि बढाएका थिए । आफ्ना उम्मेदवार विजयी गराउन दिन रात नभनी लागि परेका थिए ।

वडा नम्बर १० मा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टी गठबन्धन गर्दै एमाले उम्मेदवार हराउन चुनावमा तालमेल समेत भएको थियो । जित शुनिश्चत भन्दै उम्मेदवार आचार्यले सार्वजनिक कार्यक्रममा खुसीयाली मनाउँदै आएका थिए । तर मत परिणाम भने एमाले उम्मेदवार कै पक्षमा आएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा एमाले उम्मेदवार नवराज भट्टराई २५८१ मत सहित विजयी भएका हुन् । कांग्रेस वडाध्यक्ष उम्मेदवार डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरे ।

यस्तै एमाले मेयर उम्मेदवार मिठाराम अधिकारीले वडा नम्बर १० बाट २६३७ मत प्राप्त गरेका छन् । एमाले उपमेयर उम्मेदवार अनिता लामाले २५०४ मत प्राप्त गरेकी छिन् ।

कांग्रेस उम्मेदवार विनोद चालिसेले ११४९ मत प्राप्त गरेका छन् । कांग्रेस उपमेयर उम्मेदवारले ११९७ मत प्राप्त गरेकी छिन् ।

वडा नम्बर १० को वडा सदस्यहरूमा एमालेबाट चन्द्रमान श्रेष्ठ, रीता दाहाल, देवी रेग्मी र दिल कुमारी वि.क. निर्वाचित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा