३ जेठ, काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३, चुनिखेलबासी डा. राम कुमार श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । श्रेष्ठले आइतबार बिहान ४ बजे सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका हुन् ।
गत चैत्र २७ गते आरोहणका लागि प्रस्थान गरेका थिए । लामो समयको तालिम पश्चात् जेठ २ गते भने उनले सफलतापूर्वक सगरमाथाको आरोहण गर्न सफल भए ।
करुणा अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ परामर्शदाता, न्यूरोसर्जन समेत रहेका श्रेष्ठ अस्पतालको थप सेवा सुविधा बढाउन चाहन्छन् । अस्पतालमा Cath Lab स्थापना गरी दीन–दुःखीको निःशुल्क सेवा दिने उद्देश्य लिएर आरोहण गरेको बताएका छन् ।
केही दिनमै काठमाडौँ आइपुग्छु । त्यस पश्चात् आफ्ना थप उद्देश्य बारे जानकारी गराउँछु, उनले भने ।
श्रेष्ठको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको खबरले समग्र बुढानीलकण्ठवासी तथा शुवेच्छुकहरुलाई खुसी तुल्याएको छ । सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ ।
श्रेष्ठलाई बधाई दिँदै स्थानीय सन्तोष कुमार श्रेष्ठले लेखेका छन्, ‘चुनिखेलको पहिलो पर्वतारोही आदरणीय व्यक्तित्व चुनिखेल करुणा हस्पिटलका डाइरेक्टर, मित्र डा. राम कुमार श्रेष्ठले विश्व कै अग्लो नेपालको शान सगरमाथा सफलता पूर्वक आरोहण गर्नु भएको मा म लगायत बुढानिलकण्ठबासीको तर्फबाट धेरै धेरै शुभकामना अनि सहृदय बधाई दिन चाहन्छु ।’