एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनका नाममा जनतालाई धम्क्याउने काम भइरहेको बताएका छन् । एमाले मोरङ क्षेत्र नम्बर ३ ले सुन्दरहरैँचा नगरपालिकाको विराट चोकमा शनिबार साँझ आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मतदातालाई प्रभावमा पार्नका लागि धम्क्याउने र थर्काउने काम गरिनु आपत्तिजनक भएको बताए । ‘जनताले साथ नदिएर गठबन्धन असफल बन्दै गएपछि मतदातालाई धम्क्याउन थालिएको छ,’ उनले भने, ‘मतदाताले आफ्नो स्वेच्छाले भोट हाल्छुभन्न नपाउनु ?’
एमालेप्रति जनताको उत्साह र जनलहर देखेपछि आत्तिएकाहरुले मतदातालाई जबरजस्ती आफ्नो पक्षमा पार्न अनेक काम गर्न थालेको उनको भनाइ छ । ‘एमालेमा जनताको विश्वास छ । उत्साह बढेको छ,’ ओलीले भने, ‘पछि पर्ने अवस्था आएपछि गठबन्धनका नेतालाई निद्रा लाग्न छाडिसक्यो । फिल्डमै आएर जनतालाई धम्क्याउन थालेका छन् ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर छोरी (रेणु दाहाल)लाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर चितवनवासीलाई धम्क्याएको ओलीको भनाइ छ । ‘मैले गठबन्धनलाई १०–१५ वर्ष लैजाने योजना बनाएको छु । रेणुलाई जितायौ भने म खुसी हुन्छु भनेर प्रचण्डले चितवनवासीलाई के भन्ने खोजेको हो ?,’ प्रश्न गर्दै ओलीले भने, ‘यसरी जनतालाई धम्क्याउन पाइन्छ ? मुलुक र जनता कि छोरीका लागि राजनीति गर्ने हो ?’
कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसका उम्मेदवारलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने र कांग्रेसका उम्मेदवारले नजितेमा बजेट नपठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने पनि बताए । ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं । पाँचौं लाखलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्छौँ,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व ग¥यो भने युवाहरुले विदेशिनु पर्दैन । मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन । यो कुरा सबैले बुझे हुन्छ ।’
मुलुकलाई समृद्ध बनाउन निर्वाचनमा एमालेको जित आवश्यक रहेको उनले बताए । ‘हामी चुनाव जित्दै छौँ । एमाले सधैँ जनता र सुशासनको पक्षमा छ,’ उनले भने, ‘अब कोही पनि अलमलमा पर्न आवश्यक छैन । देश बनाउनका लागि सूर्यमा मतदान गर्न सबैमा आग्रह गर्छु ।’
सुन्दरहरैँचाको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको ओलीले बताए । भने, ‘महिला सहभागिता र समावेशीतालाई ध्यान दिएर उम्मेदवार छनोट गरिएको छ । त्यही भएकाले एमालेमा जनलहर छ । अब एमाले जनले आफ्नो मतको सुरक्षमा पनि ध्यान दिनुपर्छ ।’
पार्टीका स्थायी कमिटी सदस्य एवं संघीय सांसद भानुभक्त ढकालसमेत सम्बोधन गरेको कार्यक्रम एमाले मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटी सचिव भक्तकिरण राईले सञ्चालन गरेका थिए ।