बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

व्यक्ति र स्वार्थ केन्द्रित राजनीति गर्नेलाई कम्युनिस्ट भनिँदैन, नेपालमा असल कम्युनिस्ट छैनन्

काँग्रेसको बुई चढेर बाम एकता आवश्यकता छ भन्दै भाषण गर्ने कस्ता कम्युनिस्ट ?


  • रवि भट्टराई
  • शनिबार, बैशाख २४ २०७९
1.3K
SHARES

नेपालमा कम्युनिस्ट छैनन् भन्दै गर्दा प्रश्न उठ्छ माओवादी,एमाले, समाजवादी र अन्य आफूलाई कम्युनिस्ट भन्न रुचाउने साना पार्टीहरू र त्यसका नेता को हुन ? मेरो बुझाइमा नेपालका सबै आफूलाई कम्युनिस्ट भन्नेहरू कम्युनिस्टको ठुलो खोल ओडेका प्रधानमन्त्री र मन्त्रीको कुर्सी मात्र ताक्ने गैर कम्युनिस्ट हुन ।

किन ? किनभने नेपामा कम्युनिस्ट विचारधारा बोक्छौ भन्ने पार्टीहरू छन् तर पार्टीको नेतृत्वले कम्युनिस्टको खोल मात्रै ओडेको छ । कम्युनिस्ट बिचार धाराबाट नेता स्खलित देखिन्छन् । व्यक्ति र स्वार्थ केन्द्रित राजनीति गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् भन्ने मेरो निजी बुझाई हो । अर्को यो सत्य हो नेपालमा कम्युनिस्ट बिचार बोक्ने प्रमुख नेताहरूको काम गराइको तारतम्य जनताले मन पराएका छैनन् । गणतन्त्र कम्युनिस्ट नेता प्रचण्डको देन हो । तर उनका गतिविधि पनि गैर कम्युनिस्ट जस्तो देखिएका छन् ।

कम्युनिस्टपार्टीका नेतामा कम्युनिस्ट चरित्र हुन्थ्यो भने ६० प्रतिशत कम्युनिस्टरहेको दाबी गरिँदै आएको मुलुकमा ४० प्रतिशतको काँग्रेसले रजगज गर्ने थियो र ? पक्कै थिएन दुई तिहाँई बहुमतको नजिक पुगेको कम्युनिस्टहरूको सरकार ढल्नु के को उपज हो ? किन ढल्यो दुई तिहाँई नजिकको कम्युनिस्ट सरकार ? उत्तर साधारण छ । नेतामा कम्युनिस्ट चरित्र नहुनु नै कम्युनिस्ट सरकार ढल्नुको एक मात्र प्रमुख कारण हो ।

नेपालका अब्बल दर्जाका क्रान्तिकारी हुँ भन्ने नेताहरूको चरित्र नियालेर हेर्ने हो भने सबैले भन्न सक्छन् कम्युनिस्ट नेताहरू अवसरवादी स्वार्थ केन्द्रित राजनीतिमा रमाएकै कारण दुई तिहाइको सरकार पतन भयो । आफू र आफ्ना निहित मान्छे पदमा पुगे सबै कम्युनिस्टमय बनाउने आत्मकेन्द्रीत मनसाय बोक्नेलाई कम्युनिस्ट भन्न मिल्दैन । आफू भए सबै ठिक नभए सबै बेठिक भन्ने चरित्र बोकेका नेता कम्युनिस्ट हुन सक्दैनन् । निजी सम्पत्तिमा मोज मस्ती गर्न हिँड्ने नेता कम्युनिस्ट हैनन् । आफन्तवादमा रम्ने रमाउने नेता कम्युनिस्ट हुदैनन ।

कम्युनिस्ट भनेका सर्वहारा वर्गका, श्रमजीवी वर्गका अगुवा भन्ने बुझिन्छ । कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको उच्चस्तरको सङ्गठित राजनीतिक पार्टी हो भन्ने गरिन्छ । जसले जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्ने गर्छ । देश, जनता, क्रान्ति बाहेक कम्युनिस्ट हरूको अर्को लक्ष्य–उद्देश्य हुँदैन भन्ने गरिन्छ । अझ सबैले बुझ्ने भाषामा कम्युनिस्ट सिद्धान्तलाई एक वाक्यमा भन्न सकिन्छ निजी सम्पत्तिको खारेजी गदै समाज रूपान्तरण गर्ने । तर नेपालमा ठिक उल्टो गतिमा कम्युनिस्ट पार्टीहरू हिँडेका छन् । टुट्ने फुट्ने लुट्ने , टुक्रिने अनि आफूले आफूलाई असली कम्युनिस्ट भन्दै भाषण छाँट्दै हिँड्ने कार्य कम्युनिस्ट हरूको दैनिकी बनेको छ । भ्रष्टाचार बेथितिको नेतृत्वकर्ता जस्तो नेपालका कम्युनिस्ट पार्टी बन्न पुगेका छन् । एकको अस्तित्व अर्कोले नस्विकार्ने अवस्थामा कम्युनिस्टहरू देखिन्छन् ।

अर्को हास्यास्पद कुरो छ, काँग्रेसको बुई चढेर बाम एकता आवश्यकता छ भन्दै कम्युनिस्ट नेताका भाषण सुनिन्छन् । बाम एकता र कम्युनिस्टमय मुलुक बनाउँछु भन्नेले काँग्रेस सँग गठबन्धन गर्न पुग्नु कम्युनिस्ट चरित्र कसरी हुन्छ ? त्यसैले कम्युनिस्टहरू नेपालमा छैनन् भनेर भन्न सकिन्छ । मेरो बुझाइमा त नेपालमा काँग्रेस कम्युनिस्ट एकै हुन मात्र नाम अलग भएको हो ।

माओवादी र एमाले जुट्दा नेपालमा एसियामै दोस्रो ठुलो कम्युनिस्ट पार्टीको रूपमा नेकपा स्थापित भएको यथार्थ हो । तर त्यो यथार्थ कसका कारण पतन भयो ? दुई शक्ति मिल्दा अव को पचास वर्ष देशमा कम्युनिस्टले शासन गर्ने कम्युनिस्टका दुई नेता केपी ओली र प्रचण्डले भनेका थिए तर त्यो भनाई कहाँ बिलायो ?

पचासौँ वर्ष राज गर्छौ भन्ने कम्युनिस्टका नेताहरू तीन वर्ष नपुग्दै आफूलाई कम्युनिस्ट विचारधारा बोक्ने पार्टीका महारथीहरू दुई तीर भए । अर्का कम्युनिस्ट नेता माधवकुमार नेपालले समेत पाटी फुटाएर नेकपालाई तीन चिरा बनाए । यसमा कसको दोष छ ? कम्युनिस्ट बिचार धारामा पचासौँ वर्ष मुलुक चलाउँछौ भन्ने हस्ति नेताहरू टुक्रा टुक्रा बन्नु र बन्दै जानुलाई कम्युनिस्ट चरित्र मान्न सकिँदैन । स्वार्थ अनुकूल नभए पद र प्रतिष्ठा मान र मर्यादा नपुगे फुट्ने र हामी असली कम्युनिस्ट हौँ भन्नेलाई असली कम्युनिस्ट चरित्र भएका नेता हुन भनेर जनताले मान्न सक्दैनन् ।

कम्युनिस्ट विचारधारा नेपालमा भ्रान्ति भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सबै भन्दा राम्रो कम्युनिस्ट आफूलाई दाबी गर्छन् । एमाले अध्यक्ष केपी ओली सबैभन्दा अब्बल कम्युनिस्ट आफू र आफ्नो पार्टी भएको भन्दै प्रचण्ड र माधव नेपाल गैर कम्युनिस्ट हुन भनेर ठकुवा गर्छन् ।

माधव नेपालको तर्क झन् गज्जबको छ केपी ओली र एमाले पार्टी कुहिएको फर्सी भएको र खासमा असली कम्युनिस्ट पार्टी आफू र आफ्नो पार्टी भएको बताउँछन् । यस्ता तर्क गर्ने नेता लाई जनताले कम्युनिस्ट चरित्र भएका नेता हुन भनेर कसरी भन्ने ? कुन चाहिँ असली कम्युनिस्ट र कुन चाहिँ गैर कम्युनिस्ट हुन भन्नलाई चिन्ने मापक यन्त्र के हो ?

त्यसैले स्पष्ट भन्न सकिन्छ स्वार्थ केन्द्रित आत्मरतिमा रमाउन खोज्ने कुनै दल या नेता नेपालमा कम्युनिस्ट देखिँदैनन् । माओवादी भन्नुस् या समाजवादी अथवा एमाले सबै सत्ता र कुर्सीको लडाईमा मात्र छन् ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भारतको कलकत्तामा भएको बत्ताइन्छ । त्यसपछि तराई विभिन्न जिल्लाहरूमा किसान आन्दोलन चलाएर नेपालमा कम्युनिस्ट स्थापित भएको मानिन्छ । २०१५ सालको आम प्रतिनिधिसभाको सिट सङ्ख्या १०९ थियो जहाँ कम्युनिस्टको उपस्थिति ४ सिटमा केन्द्रित थियो ।

जति बेला कम्युनिस्ट हरूको विश्वमा प्रभाव थियो नेपालमा थिएन । तर अहिले विश्वबाटै कम्युनिस्ट बिचार अलग हुँदै गएको भनिएका बेला नेपालमा जुटेका ओली र प्रचण्ड फुटेर चैटीनुले नेपालमा असली चरित्रका कम्युनिस्ट नभएको पुष्टि मात्रै गरेको छैन कम्युनिस्ट विचारधारा माथि नै प्रश्न उब्जिएको छ ।

नेपालमा काँग्रेसको बुई चढेर दुई तिहाँईको कम्युनिस्ट सरकारबाट अलग भएर प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको समाजवादी दल सत्तामा छन् । भने केपी ओली नेतृत्वको एमाले प्रतिपक्षमा छ ।

यी बाहेक मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनालीको माले, नारायणमान बिजुक्छेको नेमकिपा, मोहनविक्रम सिंहको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका वामपन्थी दलहरू छन् ।

यसरी छरिएको कम्युनिस्ट विचारधारा एकले अर्कालाई पटक्कै स्वीकार गर्न नसक्नु नै गैर कम्युनिस्ट चरित्र हैन र ? यसरी हेर्दा कम्युनिस्टको खोल ओढेर गैर कम्युनिस्ट चरित्रमा रमाउने दल र तिनका नेतालाई असली कम्युनिस्ट भन्न सक्ने अवस्था रहेन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा