२० वैशाख, काठमाडौँ ।
नेपाली कांगेसका बूढानीलकण्ठ नगरपालिका मेयर उम्मेदवार विनोद चालिसेको घोषणा सिंगो नगरपालिकामा चर्चा हुन थालेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्ना मूल एजेन्डा पालिकावासीहरू माझ पुर्याइ रहेका छन् । सोही क्रममा आफ्नो एजेन्डा अभिव्यक्त गर्ने कुरामा चालिसेको घोषणा मध्यको एक विषय सिंगो नगरमा चर्चा छ ।
मेयर पदका उम्मेदवार चालिसेले ९ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरे । सोही सङ्कल्प पत्र घोषणा कार्यक्रममा बोल्दै चालिसेले आफू निर्वाचित भएको खण्डमा मेयर ‘साब’ नबन्ने उद्घोष गरे ।
जनताको सेवाका लागि निर्वाचित हुने हो, शासक बन्ने हैन । आफू निर्वाचित भएको खण्डमा ‘साब’ को ट्याग नलिने उनको उद्घोष छ ।
उम्मेदवार चालिसे भन्छन्, ‘म कार्यक्रम हल बाहिर आउँदै गर्दा मेयर ‘साब’ भनेर धेरैले सम्बोधन गर्नुभयो । अब हामी ‘साब’बाट ‘सेवक’ रूपमा बूढानीलकण्ठ नगरपालिका सञ्चालन गर्न चाहन्छौ । हामी सेवक हौँ, साब हैन । बुढानीलकण्ठवासीले हाम्रो मेयर, उपमेयर, वडाध्यक्ष भन्दा गर्वको महसुस हुने काम गर्दछौँ । जसको शिर झुकाउने काम कहिल्यै गर्दैनौ ।’
नगरवासीको सेवक बन्ने उद्घोष पश्चात् यति बेला सिंगो नगरमा उम्मेदवार विनोदको चर्चा छ । अघिल्लो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिबाट असन्तुष्ट रहेका नगर बासीका लागि यस सम्बोधनले नयाँ आशा पलाएको एक स्थानीयले केटिएम खबरलाई बताए ।
‘विगतका स्थानीय निकायको निर्वाचनमा केही वडाहरूभन्दा बाहेकमा नेपाली कांग्रेस पार्टीको पराजय भयो । पराजयमा हाम्रा केही गुनासा, आक्रोश रहे ।’ अघिल्लो निर्वाचनको हारलाई सम्झँदै चालिसे भन्छन्, ‘अब जनताको मागलाई इमानदारी, निष्ठाका साथ आफ्नो लागि भन्दा अरूका लागि बाच्नुपर्छ भन्ने मान्यताबाट अगाडी बढ्नु आवश्यक छ । विकास, सुशासनको सन्दर्भमा सकारात्मक परिवर्तन भएको हेर्न चाहन्छौ । समुन्नत नगर र सम्मानित नगरवासीको नारालाई साकार पार्नेमा प्रतिबद्ध छौँ ।’
यस्तो छ चालिसेको मुख्य ९ बुँदे सङ्कल्प पत्र:
- सेवा प्रवाहमा सुधार र सुशासन युक्त नगर प्रशासन
- बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण
- धर्म, संस्कृति, कला, भाषा, साहित्यको विकास र संरक्षण
- शिक्षा तथा स्वास्थ्यमा सहज र सुलभ व्यवस्थापन
- स्वच्छ वातावरण, सफा र सुन्दर नगर
- रोजगारी र उद्यमशीलता आर्थिक रूपले नमुना नगर
- आफ्नै पानी, आफैले खाने
- सबल र सशक्त समाज निर्माण
- सूचना र सञ्चार समृद्धिको आधार
बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसबाट विनोद चालिसे, नेकपा एमालेबाट मिठाराम अधिकारी, नेकपा (एकीकृत समाजवादी) बाट बालकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) डम्बर प्रसाद अधिकारी, स्वतन्त्र उम्मेदवार सुमित खरेल मेयरको रेसमा रहेका छन् ।