शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

गगन थापाको क्षेत्रमा अर्का कांग्रेस युवा नेताको चर्चा सुरु, यस्तो घोषणाले आत्तिए विपक्षी !


  • आइतबार, बैशाख १८ २०७९
28.3K
SHARES

१८ वैशाख, काठमाडौँ ।

जनसङ्ख्याको हिसाबले सबैभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिको रूपमा लिइन्छ बुढानीलकण्ठ नगरपालिकालाई । धेरैको बसोबास भएका कारण होला राजनीतिक रूपमा यस क्षेत्रको धेरै चर्चा हुने गर्दछ ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सङ्घीय चुनावमा यस क्षेत्रबाट जीत हासिल गर्दै आएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने यस बुढानीलकण्ठ नगरपालिका बागमती प्रदेश अन्तर्गत क्षेत्र नम्बर ४ प्रदेश ‘ख’ निर्वाचन क्षेत्र हो । देशकै बागडोर सम्हाली रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बसोबास स्थान समेत रहेको यस नगरमा विभिन्न भिभिआइपीको बसोबास छ ।

उसो त देशकै चर्चाको केन्द्रमा रहने गगन कुमार थापाको निर्वाचन क्षेत्र भएका कारण पनि अन्य नगरभन्दा बढी हल्ला खल्ला भइरहेको हुन्छ । स्थानीय तहको निर्वाचनले चुनावी सरगर्मी बढिरहेको बेला नगरभित्र गगनकै लयमा नेपाली कांग्रेसका एक युवा नेताको चर्चा सुरु हुन थालेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मैदानमा आएका कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष उम्मेदवार भरत श्रेष्ठको अभिव्यक्त कुरा यत्ति बेला चर्चामा छ ।

उम्मेदवार श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा वडाबाट प्राप्त हुने सरकारी सुविधा नलिने घोषणा गरेका छन् । यसले कांग्रेस पार्टीमा मात्र नभई विपक्षी पार्टीका उम्मेदवारलाई समेत थप नैतिक दबाब बढाएको छ ।

केही दिन अगाडी चुनिखेल स्थित एक होटेलमा पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै यदि वडावासीले जिताएको खण्डमा सरकारी सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले भने, ‘चर्चामा आउनकै लागि भनेर यो घोषणा गरेको हैन । आफू र आफ्नो परिवार चलाउनका लागि केही ब्याबसाय छ । त्यसबाट आवश्यक आय भइरहेको छ । सामान्य जीवनयापनभन्दा माथिको कुरामा व्यक्तिगत आकांक्षा छैन । निःस्वार्थ वडावासीको सेवा गर्ने अठोट राखेको छु ।’

अहिलेसम्म अघिल्लो निर्वाचनमा निर्वाचन जनप्रतिनिधि र हालका कुनै पनि उम्मेदवारले बिना सेवा सुविधा नगरवासीको सेवा गर्छु भन्ने आट गर्न सकेका थिएनन् । श्रेष्ठले गरेको यस घोषणाले वडा नम्बर १३ मात्र हैन समग्र नगरका लागि यस्ता जनप्रतिनिधिको आवश्यकता छ भन्ने आवाज उठ्न थालेको छ ।

व्यक्तिगत रूपमा चुनिखेलको सडकमा बत्ती जडान गरी ‘उज्यालो चुनिखेल’का निर्माताको उपमा पाएका छन् । कोभिड कहरमा व्यक्तिगत रूपमा विभिन्न खाद्यान्न, स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोग गरेका थिए ।

कला, संस्कृतिको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटक बढाउने स्पष्ट कार्य योजना बनाएका श्रेष्ठलाई कांग्रेसले उम्मेदवार चयनमा वडाध्यक्षमा सर्वसम्मत चुनिएका थिए ।

श्रेष्ठ भन्छन्, ‘वडाको स्थायी विकासमा को–कसको कस्तो भूमिका छ ? भन्ने विषयमा जगजायर नै छ । हाम्रालाई भन्दामाथि राम्रा छान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । यस पटकको निर्वाचनलाई हेर्ने हो भने मेरो प्रतिस्पर्धा कोहीसँग पनि छैन । वडाको दीर्घकालीन विकासका लागि हरेक मुद्दामा वडावासीको तर्फबाट चट्टानी अडानसाथ उभिँदै आएको छु । यस कारण वडावासीको साथ पाउँनेमा विश्वस्त छु ।’

यस्तो छ श्रेष्ठको घोषणा

  • पार्टीको मात्र नभई आम जनताले चुनेको, सबै जनमानसले विश्वास गरेको जनप्रतिनिधि हुनका लागि
  • वडाको भिजन तथा माग वडावासीहरूले चाहे अनुरूप नै गर्न र गराउन
  • हाम्रो गुमेका र ओझेलमा परेका मौलिक र सांस्कृतिक पहिचान पुनर्जागृत गर्न
  • प्राकृतिक सम्पदाको संरक्षण गरिने
  • वडावासी कै इच्छा अनुरूप वडाको प्रशासन चलाइने
  • हरेका विकास निर्माणका कार्यहरू र समस्याहरू वडावासी कै रोहबरमा गर्न र गराउन

वडा नम्बर १३ मा कांग्रेसबाट भरत श्रेष्ठसँगै एमालेको तर्फबाट टिकेश श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सुवास श्रेष्ठ वडाध्यक्षको रेसमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा