११ बैशाख, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरे । वि.स. २०५४ सालमा काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको स्ममरण गर्दै स्थापितले चुनाव जितिसकेको घोषणा हुन मतदान दिन कुर्नुपर्ने बाध्यता रहेको जिकिर गरे ।
उम्मेदवारी दर्तापछि राष्ट्रिय सभागृहको प्रांगणमा पत्रकारहरुसँगको कुराकानीमा उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि उपस्थित थिइन् । पत्रकारले यौन दुर्व्यवहार आरोपका बारेमा गरेको प्रश्नमा उनले हल्का टिप्पणी गर्दै आरोप लगाउने महिलाहरूलाई फरक संज्ञा दिएका छन् ।
‘आजभाेली यस्ता फरक व्यक्तिहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन,’ उनले भने, ‘विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ।’
विवादमा मुछिएपछि वाग्मती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगरेको’ भन्दै हटाइएका थिए ।
काठमाडौं महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लगाइएपछि उनी विवादमा तानिएका थिए । महानगरपालिकाकी पूर्व कर्मचारी र एक पत्रकारले स्थापितले आफूहरूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए । स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए ।
यस्तै उनले काठमाडौंमा अहिले देखिकामध्ये अधिकांश पूर्वाधार आफू मेयर हुँदा खडा भएकाले गर्दा पनि काठमाडौंवासीले आफूलाई भोट दिने दाबी गरेका थिए ।
उपमेयरकी उम्मेदवार सुनिताले भने आफू महिला र युवाको प्रतिनिधी भएकाले मत दिनुपर्ने दाबी पेस गरेकी थिइन् । केशव स्थापित अनुभवी उम्मेदवार भएकैले आफूले उपमेयरको पदमा चित्ता बुझाएको बताउँदै उनले एमालेसँग आफ्नो विचार मिलेकैले सो पार्टीमा लागेको बताइन् ।