काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटै कुराले शसंकित छन् । त्यो हो प्रचण्डले अरु कम्युनिस्ट पार्टीसँग एकता गरेर र तालमेत गरेर कांग्रेसलाई हराउछन् की भन्ने ।
प्रचण्डले देउवाको डरलाई पुष्टि गर्ने गरी वाम एकता हुने बताएका छन् । कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्दै वाम एकतामा जोड दिने बताएका हुन् ।
उनले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ। अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्छ। त्यसपछि गठबन्धन नयाँ सिराबाट अघि बढ्नसक्छ।’
उनले गठबन्धन पछिसम्म कायम रहने र यही गठबन्धनले देशलाई पार लगाउने दाबी गरे। उनले शान्ति प्रक्रिया र माओवादी पार्टी बचाउनलाई एमसीसीमा हस्ताक्षर गरेको स्पष्ट पारे।
‘शान्ति प्रक्रिया दुर्घटनामा जाने भयो, देश दुर्घटनामा जाने भयो। माओवादी आन्दोलन भयावह हुने भयो। त्यही भएर एमसीसीमा हस्ताक्षर गरे। माओवादी आन्दोलन बचेको छ। देश बचेको छ।’
उनले यसअघि आफूहरुले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताए। ‘हामीले प्रस्ताव गरेको प्रधानमन्त्री संघीयताविरोधी, संविधानविरोधी थिए। संसद् विघटन गरेको हामी सबैलाई थाहा छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा राम-सीता-लक्ष्मण राखिदिए। जाली, फटाहासँग त लड्न सक्दैन।’