सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहको चर्चा भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसकी सिर्जना उम्मेदवार बन्ने लगभग निश्चित भएको खबर बाहिरिएका छन् ।
महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ । ‘सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर हुने मिडियाबाट सुनेको छु,’ महानगरका कांग्रेस सभापति नीलकाजी शाक्यले भने, ‘नाम कसैको पनि अहिलेसम्म सिफारिस गरेको छैन ।’
काठमाडौं कांग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहमा छ । उनले इच्छाएकै व्यक्ति काठमाडौं मेयरको उम्मेदवार हुँदै आएका छन् । लामो समय सक्रिय राजनीतिमा नरहेकी सिंहले मेयरको इच्छा राखेपछि अन्य आकांक्षी पछि हट्नुपरेको छ ।
काठमाडौं मेयरको विषयमा मंगलबार शीर्ष नेताको बैठकमा पनि छलफल भएको थियो । नेता प्रकाशमान सिंह निकट काठमाडौंका एक जिल्ला नेताले भने, ‘सिर्जना भाउजुको नाम कांग्रेसको मेयरको उम्मेदवारमा निश्चित भएको सुनेको छु ।’
सिंहले भित्र भित्र मेयरको तयारी गरे पनि बाहिर भने मुख खोलेकी थिइनन् । महिलासंघ र नेविसंघ काठमाडौं समितिले सिंहलाई मेयरमा उठ्न दबाब दिएका थिए । सिंहले बाहिर मुख नखोले पनि उनी आफ्नो पक्षमा वातावरण बनाउन लागिरहेको नेविसंघका एक नेता बताउँछन् । ‘महिला संघ र नेविसंघका नेता कार्यकर्ता घरमा बोलाएर आफ्नो पक्षमा माहोल बनाउनुभएको हो’, नेविसंघका एक नेता भन्छन् ।