आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

अब रक्सी खान पनि अनुमति लिन पर्ने !


  • मंगलबार, बैशाख ६ २०७९
9.1K
SHARES

काठमाडौं – अब नेकपा एकीकृत समाजवादीले जितेका स्थानीय तहहरुमा रक्सी खान पनि अनुमति लिन पर्ने भएको छ । एकीकृत समाजवादी पार्टी जारी गरेको घोषणापत्रमा आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने जनाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने उल्लेख गरेको हो ।

जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्न आवश्यक भएकाले यस्तो व्यवस्था गर्नुपर्ने निचोडमा पुगेको समावादीको घोषणा छ ।

मदिरा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दा जथाभावी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने र सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने एकीकृत समाजवादीको विश्वास छ ।

साथसाथै, नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

‘संसारका अरु देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरेका छन् । यसबाट हामीले सिक्न जरुरी छ’ घोषणापत्रमा भनिएको छ ।

नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेको देखिएको भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु आवश्यक छ ।’

आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक रहेको एकीकृत समाजवादीको निष्कर्ष छ ।

संघ र प्रदेश सरकारहरुसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्दा आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने घोषणापत्रमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा