आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्यो ।’
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको बत्छेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला–मजदुरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन् । श्रीमान्को ७ वर्षअघि भारतमा मृत्यु भएको थियो ।
टाउको दुखेपछि उनी मंगलबार छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई
‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो । त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो ।
धामीहरू धर्मानन्द भट्ट र नारायणदत्त भट्टले मन्त्र सुनाउने भन्दै पटक–पटक कोठामा लैजान्थे, फेरि बाहिर ल्याउँथे । उनीहरूले झारफुक गर्दागर्दै अर्को दिन साँझपख उनको जिब्रो लरबरिन थाल्यो । झारफुकका नाममा उनीमाथि धामीहरूले अत्याचार गरे । रञ्चुलाकी छोरी सरिताका अनुसार आगोमा तताएका फलामका डन्डीले मुख र शरीरमा डामेका कारण रञ्चुलाको मृत्यु भयो तर झाँक्रीहरूले भने आफूहरूले नै ‘बेहोस’ बनाएकाले फर्काउने दाबी गरिरहेका थिए । ‘यसले हाम्रो बारेमा गाउँलेसँग अनेक कुरा गरेकी छ, हामीले नै यसलाई बेहोस बनाएका हौं, यो कुरा बाहिर भन्यौ भने तिमीहरूलाई पनि यस्तै बनाइदिन्छु,’ धामीले धम्क्याएको सरिताले सुनाइन् ।
सरिताका अनुसार रञ्चुलाको बिहीबार दिउँसो मृत्यु भएको हो । त्यही दिन साँझ रञ्चुलाका देवर पदमलाई पनि कमलाले नै फोन गरेर बोलाएकी थिइन् । उनी बैतडीको शिवनाथ गाउँपालिकास्थित घरमा थिए । ‘तिम्रो भाउजूको शरीरमा तिम्री आमाको आत्मा आएको छ, यसको झारफुक गर्नुपर्छ भन्दै मलाई बोलाए,’ पदमले भने, ‘म आउँदा त लास मात्रै देखें ।’
रञ्चुलाका दाइ करनसिंह घटाल बुधबार नै आएका थिए । ‘धामीझाँक्रीले नै मेरी बहिनी मारेका हुन्,’ उनको दाबी छ । उनका अनुसार कमला पनि धामीझाँक्री नै हुन् । उनका दुई छोरी मात्रै छन् । छोरा नपाएपछि उनले भट्ट धामीझाँक्रीहरूलाई बेला–बेलामा घरमा ल्याउने गर्थिन् । वडा सदस्य पुजाराका अनुसार कमलाले छोरा पाउने आसमा धामीझाँक्रीमा विश्वास गर्थिन् । पुजाराले खबर गरेपछि प्रशासनले घटनास्थलमा हस्तक्षेप गरेको थियो ।
प्रहरीले धामीझाँक्री दुवै भट्टसहित कमलालगायत सात जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट फलामका डन्डीहरूसमेत बरामद भएका छन् । ‘घटना शंकास्पद छ तर अहिले नै केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘शव गन्हाइसकेको छ ।’ शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।
-कानितपुरबाट