शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लेटाङ घटनाले लियो नसोचेको अर्को मोड, महिला प्रहरी उर्मिलालाई लागेको गोली कसको ? घटनास्थलमा सटगनका खोका !


  • बिहिबार, बैशाख १ २०७९
8.7K
SHARES

फाइल तस्विर

विराटनगर ।

गत चैत ६ गते साँझ मोरङको लेटाङमा भएको हिंसात्मक भीडमा २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटनाले नयाँ मोड लिएको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट गोली चलेको थियो भन्ने पुष्टि हुन बाँकी छ । घटनामा प्रहरीले दुई दर्जनभन्दा बढी हवाई फायर गरेको थियो ।

सुरुवाती अनुसन्धानमा प्रहरीले श्रेष्ठको मृत्यु धारिलो हतियार प्रहारबाट भएको बताउँदै आएको थियो । तर पोस्टमार्टम रिपोर्टले उनको मृत्यु गोली प्रहारबाट भएको उल्लेख गरेपछि घटना थप शंकास्पद बनेको हो ।

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ६ अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई आक्रोशित भीडले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमण स्थल विद्यालयदेखि करिब डेढ किलोमिटर दक्षिणको धराने चोक हो । भीड नियन्त्रण गर्दै अगाडि बढेका प्रहरी र उत्तेजित भीडबीच चोकमा साढे आठ बजेदेखि दुई घण्टासम्म दोहोरो झडप हुँदा प्रहरीले दर्जनौं पटक हवाई फायर गरेको स्थानीय जंगबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार तीनतिरबाट आएको भीडले प्रहरीलाई घेरा हालेर आक्रमण गरेको थियो । सो बन्दुकको ठूलो र सानो आवाज पटकपटक सुनिएको उनले बताए । घटना नियन्त्रणमा लिन प्रहरीले तीन वटा हतियारमार्फत हवाई फायर गरेको थियो । ती हतियारमा लोड गरिएका गोली र मृतकको शरीरबाट निकालिएको गोली विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा म्याच नभएपछि अनियन्त्रित भीडबाटै गोली चलेको हुन सक्ने मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको भनाइ छ । कोइरालाले भने, ‘हत्यारालाई पक्राउ गर्न अनुसन्धान भइरहेको छ, जोसुकै भए पनि दोषीलाई उम्किन दिँदैनौं ।’ घटनाको तीन सातापछि कोइरालाले मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । घटनाताका प्रहरी प्रमुख एसपी जनार्दन जीसी थिए ।

घटनास्थलमा सटगनका १० वटा खोका फेला परेका थिए । ‘घटना राति भएकाले गोली चलाउनेको पत्तो लगाउन गाह्रो भयो,’ कोइरालाले भने, ‘पक्राउ परेका सबैले भाला, ढुंगा, बोत्तल प्रहार गरेको स्विकारे पनि भीडबाट कसले गोली चलायो भन्ने जानकारी नभएको बताउँदा थप समस्या भएको हो ।’ प्रहरीले अहिलेसम्म गोली चलेको हतियार फेला पार्न सकेको छैन । एक पूर्वडीआईजीका अनुसार धेरै प्रकारका सटगनमध्ये कुनबाट गोली चलेको र त्यसको प्रयोगकर्ता को–को हुन सक्छन् भन्ने पत्ता लगाउन सकेमा हत्याराको नजिक पुग्न सकिन्छ ।

बुधबार जिल्ला अदालतमा भेटिएका घटनाका अभियुक्तका अभिभावकले भने प्रहरीको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेका छन् । एसपी कोइरालाका अनुसार घटनामा प्रत्यक्ष संलग्न भएका पाँच जना अझै फरार छन् । उनीहरू नियन्त्रणमा आएपछि गोली चलाउनेको पहिचान हुन सक्ने उनको दाबी छ । फरार पाँच जनाविरुद्ध प्रहरीले जन्म कैदको माग गर्दै जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा