शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसको घुडा टेकाउने र युक्रेनको पल्ला भारी बनाउने त्यो एउटा ‘रक्षा कबज’ जसका कारण युक्रेनी सेना अहिलेसम्म लडिरहेको छ


  • बिहिबार, बैशाख १ २०७९
12.1K
SHARES

फाइल तस्विर

सैन्य प्रविधिले आक्रमणलाई भन्दा प्रतिरक्षालाई बलियो बनाएको अनेक उदाहरण इतिहासमा देख्न सकिन्छ। युक्रेनविरुद्ध रुसको युद्धमा पनि यही कुरा लागू भएको देखिन्छ। सैन्य प्रविधिले आक्रमण र प्रतिरक्षाबीचको सन्तुलनलाई प्रतिरक्षाको पक्षमा ढल्काइदिएको छ। जुन ढल्काइ तयार हुन दशकौँ लागेको छ। र, यसको फाइदा युक्रेनलाई भइरहेको छ।

गत शताब्दीहरुमा यस्ता परिवर्तन अनेक पटक भएका छन्। भर्खर मेसिन गन विकसित हुँदा त्यो निकै गह्रौँ हुन्थ्यो। सजिलै यताउता सार्न सकिन्नथ्यो। तर, त्यो हतियारले प्रतिरक्षा गर्ने पक्षलाई फाइदा पुग्यो। किनभने त्यसलाई एक ठाउँमा राखेर आक्रमण गर्ने फौजलाई सोत्तर पार्न सकिन्थ्यो।

तर, त्यो फाइदा त्यतिबेला समाप्त भयो, जतिबेला बेलायतीहरुले वाहनमाथि बन्दुक राखे। त्यो वाहनलाई ट्यांक नाम दिइयो। ट्यांक युद्धले आक्रमण गर्ने पक्षलाई बलियो बनायो। किनभने त्यसका माध्यमबाट प्रतिरक्षा गरिरहेको फौजनजिकै गएर आक्रमण गर्न सकिन्थ्यो।

उतिबेलाको बजुका भनिने एन्टी–ट्यांक हतियार ट्यांकको नजिकै गएर प्रहार गर्नुपर्थ्यो। र, त्यो हतियार कहिलेकाहीँ प्रहार गर्ने सैनिककै लागि पनि घातक बन्न पुग्थ्यो।

अन्ततः ट्यांक, पैदल सैनिक र हवाई शक्तिको संयोजनसहित गरिएको आक्रमण रोक्न नसकिने साबित भयो।

त्यसैले प्रतिरक्षालाई बलियो बनाउन नयाँ एन्टी–ट्यांक हतियार विकास गर्नुपर्यो। त्यस्तो हतियार, जसलाई टाढैबाट प्रहार गर्न सकियोस् र अँध्यारोमा पनि हिँडिरहेको ट्यांकमा निसाना लगाउन सकियोस्।

गएको दशकमा हामीलाई जुन प्रविधिले स्मार्टफोन दियो, त्यही प्रविधिले युक्रेनी सेनालाई यस्ता स्मार्ट हतियार पनि दियो।

युक्रेनी सैनिकहरुले एक किलोमिटरभन्दा टाढाबाट ज्याभेलिन वा एनएलएडब्लूजस्ता एन्टी–ट्यांक गाइडेड क्षेप्यास्त्र (एटीजीएम) प्रहार गर्न सक्छन्। त्यो क्षेप्यास्त्र पहिले माथि जान्छ र दौडिरहेको ट्यांकको छतरीमा गएर बज्रिन्छ।

मानिसले बोक्न सक्ने यस्ता क्षेप्यास्त्र सस्ता छन्। अमेरिकाको रेथिअन र लकहिड मार्टिनले बनाएको प्रतिगोटा दुई लाख डलर पर्ने ज्याभेलिन र २६ हजार डलर पर्ने बेलायती एनएलएडब्लूले रुसका ५० लाख डलरभन्दा बढी पर्ने ट्यांकलाई ध्वस्त पार्छ। र, ज्याभेलिन ९० प्रतिशतभन्दा बढी विश्वसनीय हुने बताइएको छ।

खाडी युद्धका बेला अमेरिकी पैदल सैनिकहरु ट्यांक चालकप्रति ईर्ष्याभाव राख्थे। किनभने ट्यांक चालक सुरक्षित थिए। तर, अहिले यिनै एन्टी ट्यांक हतियारका कारण रुसी ट्यांक चालकहरु पैदल सैनिकको ईर्ष्या गरिरहेका छन्। त्यसैकारण यति ठूलो संख्यामा रुसी सेनाले ट्यांक छाडेको हुनसक्छ।

गुम्यो हवाई प्रभुत्व

युक्रेनमा हवाई प्रभुत्वको परम्परागत सिद्धान्तलाई पनि निकै सस्तोमा चुनौती दिने काम भइरहेको छ।

युक्रेनलाई अढाई करोड डलर पर्ने लडाकु विमान, धेरै ठूलो खर्च गरेर तालिम दिइएका पाइलट, हजारौँ हवाई सेना पालेर तिनको भरमा सञ्चालन गरिएका ठुल्ठूला हवाई अखडाको चरम अभाव छ। तैपनि युक्रेनीहरुले रुसलाई हवाई प्रभुत्व कायम गर्न दिएका छैनन्।

र, यो काम उनीहरुले काँधमा राखेर प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको भरमा गरिरहेका छन्। ४० वर्षअघि निर्मित स्टिंगर क्षेप्यास्त्र झन्झन् स्मार्ट हुँदै गएको छ।

यो क्षेप्यास्त्र कम उचाइमा उडिरहेका विमानविरुद्ध मात्रै प्रभावकारी हुन्छ। तर, युद्धमा बढी उचाइमा उडेको विमानबाट प्रहार गर्न अचुक निसाना लगाउन मिल्ने महंगा हतियार चाहिन्छ। जुन हतियार रुससँग पर्याप्त छैन।

दक्षिणपूर्वमा के होला?

रुसले युक्रेनको पूर्वी र दक्षिणी भागमा थप आक्रमणको तयारी गरिरहेको गुप्तचर रिपोर्टहरुले जनाएका छन्। सो क्षेत्रमा बढी समतल जमिन छ र जमिन बढी साह्रो पनि छ। के यसले युद्धमा केही परिवर्तन ल्याउला?

यो क्षेत्रमा युक्रेनीहरुसँग रुसी सेनामाथि एम्बुस थाप्ने ठाउँ कम हुनेछ। जुन किभको उत्तरतर्फको पहाड र जंगल भएको क्षेत्रमा असाध्यै सफल भएको थियो।

त्यसैले पूर्वी र दक्षिणी युक्रेनको भूभाग रुसका लागि फाइदाजनक छ भन्न सकिन्छ। जहाँ रुसले ठूलो संख्यामा आफूसँग भएको बख्तरबन्द गाडीको भरपुर उपयोग गर्न सक्छ। सोभियत संघले दोस्रो विश्वयुद्धमा खार्कोवबाट नजिकै रुसभित्र पर्ने कुस्र्कको लडाइँमा त्यसै गरेको थियो। एक पटक नाजीहरुको २९० ट्यांकविरुद्ध सोभियतहरुले ८५० ट्यांक मैदानमा उतारेका थिए।

त्यो लडाइँमा सोभियतहरुले आफ्नो आधाभन्दा बढी ट्यांक गुमाए भने नाजीहरुले २० प्रतिशत मात्र। तर, त्यो युद्धको नतिजाबारे अझै बहस हुने गर्छ, किनभने त्यो लडाइँपछि नाजीहरु निरन्तर पूर्वतर्फ पछि हट्न बाध्य भए।

८० वर्षपछि

अहिले २१औँ शताब्दीमा रुसले सयौँ ट्यांक उतारेको र युक्रेनले हजारौँ एन्टी–ट्यांक क्षेप्यस्त्रद्वारा प्रतिरक्षा गरेको कल्पना गरौँ।

यस्तो युद्धबाट रुस सायद बच्न चाहन्छ। किनभने युक्रेनी एटीजीएमको मारक क्षमता दिउँसो ५.५ किलोमिटरसम्म छ। सोभियत एरोस्पेस अनुसन्धानको केन्द्र थियो युक्रेन। र, उसको हतियारको विकासले निरन्तरता पायो।

ट्यांक र बख्तरबन्द गाडीको अबिच्युरी लेख्नु अहिले हतार हुन्छ। हवाई र पैदल शक्तिसँग मिल्दा तिनको उपयोगिता अझै निकै छ।

तर, निरन्तर इन्धन र मर्मत आवश्यक पर्ने, कम्तीमा तीन र सोभन्दा बढी चालक चाहिने ८० लाख डलर पर्ने एउटै ट्यांकको उपादेयतामाथि भने प्रश्न उठ्दै जानेछ। त्यसको सट्टा सस्तो, मानवरहित, स्मार्ट हतियार भएको विकल्प किन नखोज्ने?

रुसले २० औँ शताब्दीको हतियार र सिद्धान्तका साथ युक्रेनमाथि आक्रमण गर्यो। रुसलाई जवाफ दिन युक्रेनसँग २१ औँ शताब्दीका स्मार्ट हतियार र कठोर दृढसंकल्पबाहेक अरु केही छैन। त्यसैले युक्रेनले चलाखीपूर्ण कदम चालेकोमा हामी चकित हुनु पर्दैन।

इतिहासलाई हेर्ने हो भने सामान्यतयाः प्रतिरक्षा गर्ने पक्षले भन्दा आक्रमण गर्ने पक्षले ज्यादा क्षति बेहोरेको देख्न सकिन्छ। झन् आजको स्मार्ट हतियारको समयमा प्रतिरक्षाको पल्ला भारी भएको छ।

(एसिया टाइम्सबाट)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा