प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्।
सहरी विकास मन्त्रालयले मंगलबार आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने बताए।
तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइसराइलाई निरुत्साहित गर्न हिमाली तथा पहाडि नगरपालिकाहरुमा विस्तार गरिनेछ ।’
सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्दै विकास निर्माणमा दोहोरोपन हटाइने प्रधानमन्त्री देउवाले बताए । सरकारी खर्च कम गर्न सकेमा मुलुकको सहरी विकासले काँचुली फेर्नसक्ने उनको विश्वास छ । सहरीकरणमा देखिएका समस्या तथा चुनौतीको सम्बोधन गरिने र नयाँ सहरी नीतिमार्फत सम्मुनत राष्ट्रिय सहरी पूर्वाधारको पहुँचमा विस्तार गरिने उनले बताए।
प्रधानमन्त्री देउवाले भने, ‘यसले सहरी विकासका लागि समुचित स्रोत परिचालन गर्ने तथा अन्तर सरकारी समन्वय र सहरी सुशासन सुनिश्चित गर्न सहयोग गर्नेछ ।’ विश्वका अत्यधिक गतिमा सहरीकरण भइरहेका देशमा नेपाल पनि एक रहेको प्रधानमन्त्री देउवाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।