शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, कुनै हालतमा रोकिदैन : प्रमुख निर्वाचन आयुक्त


  • मंगलबार, चैत्र २९ २०७८
8.3K
SHARES

फाइल तस्विर

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रक्षेपण भइसकेको रकेटको दिशा परिवर्तन गर्न नसकिने बताए । ‘गाडी छुटेको हैन । गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । एकछिन रोक्न पनि मिल्छ । प्लेन (जहाज)पनि छुटेको हैन । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्छ,’ उनले भने, ‘ अहिले निर्वाचनको रकेट छुटिसकेको छ । रकेटलाई दिशा बदल्न र रोक्न सम्भव छैन । गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।’

निर्वाचन आयोग चुनाव रोकेर मुलुकलाई दुर्घटनातर्फ लैजाने वा दुर्घटना निम्त्याउने पक्षमा नरहेको थपलियाले बताए । निर्वाचन हुँदैन भन्ने कुनै शंका नगर्न उनको आग्रह छ । ‘अहिलेसम्म ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । निर्वाचन अधिकृतहरु चयन गरिसकियो,’ उनले भने, ‘अब मतदाता अभिमुखीकरणसमेत सुरु हुने अवस्था छ । यस्तो अवस्थामा निर्वाचन रोक्न सम्भव छैन । जसरी पनि निर्वाचन हुन्छ ।’

मुलुकलाई दुर्घटनाबाट जोगाउन र लोकतन्त्रलाई हार्न नदिन निर्वाचन गर्नैपर्ने अवस्था रहेको थपलियाले बताए। निर्वाचनलाई सफल बनाउन संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले बताए । मतदाता शिक्षा र जागरणमा सहयोग गर्न संचारमाध्यमलाई आग्रह गर्दै उनले समाचार प्रकाशन गर्दा निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुपर्नेमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा