नेपाली काग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता शंशाक कोइराला आफ्नै बोलीका कारण अप्ठेरोमा परेका छन् ।
केहि दिन अघि मात्रै एक सार्वजनिक कार्यक्रममा प्रतिनिधीसभाका सदस्य समेत रहेका कोइरालाले गत संघिय निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको हिसाब सुनाएका थिए । निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा जम्मा २१ लाख ७५ हजार खर्च विवरण बुझाएका उनले यस्तो अभिव्यक्ति दिए पछि निर्वाचन आयोगले कोइराला सँग स्पष्टिरकण सोधेको छ ।
निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो ।
कोइरालाले हालै नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नुपरेको बताएका थिए ।कोइरालाले त्यस अघिको निर्वाचनमा ३ करोड र त्यो भन्दा पहिले जम्मा ८० हजार खर्च भएको बताएका थिए ।
बोली र व्यवहारमा आकाशजमिनको फरक परे पछि कोइराला माथी एक्सन लिन व्यापक जनदबाव परेको थियो । कोइरालाले अब निर्वाचन आयोगलाई स्पष्टिकरण दिनु पर्ने छ । कोइरालाले दिएको स्पष्टिकरणको आधारमा थपा जाँचबुझ गरेर आवश्यक कदम चालिने निर्वाचन आयोग स्रोतले बताएको छ ।
यसै विच निर्वाचन आयोगले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि स्पष्टीकरण सोधेको छ ।भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।