विवेकशील साझा पार्टीले समीक्षा बास्कोटालाई काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय पनि साझाले गरेको छ।
सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।
समिक्षा बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन्।
दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।