काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा गठबन्धनमा लफडा भएको छ । ६ वटा पालिका भएको ललितपुर जिल्लामा एकीकृत समाजवादीले महानगरपालिका मागेपछि लफडा भएको हो ।
जिल्लामा सत्तारुढ गठबन्धनका स्थानीय नेताहरूबीच भएका तीन पटकका छलफलमा समाजवादीले आफ्नो अडान नछोडे पछि सहमती हुन नसकेको हो । यस विषयमा लामो छलफल भए पनि कसरी उम्मेदवारी भागबण्डा गर्ने, कुन ठाउँमा कसले छोड्ने, कहाँ कसलाई सघाउने भन्ने बारेमा कुरा मिल्न बाँकी रहेको काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताहरूले बताएका छन् ।
ललितपुरका पालिकामा यसअघि आफूले जितेको क्षेत्र छोड्न काँग्रेस र माओवादी केन्द्र तयार छैनन् भने एमालेले जितेको पालिकाको प्रमुख र उपप्रमुख पद भने आपसमा बाँडीचुडी गर्ने पक्षमा छन् । नेकपा एकीकृत समाजवादीलाई भने केही वडा दिने उनीहरूको तयारी छ ।
तर नेकपा एकीकृत समाजवादीले भने अघिल्लो चुनावमा एमालेले जहाँजहाँ जितेको छ, ती सिट आफ्नो भागमा छोड्नुपर्ने माग गरेको छ । नेकपा एकीकृत समाजवादीले अघिल्लो चुनावमा एमालेले जितेको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मेयर पदमा दाबी गरेको छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा ललितपुरका ६ स्थानीय तह मध्ये ३ वटा काँग्रेसले, २ वटा एमालेले र एउटा माओवादी केन्द्रले जितेको थियो । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती नगरपालिका काँग्रेसले जितेको थियो ।
यस्तै महालक्ष्मी नगरपालिका र महाङ्काल गाउँपालिकामा एमालेले जितेको थियो । माओवादी केन्द्रले कोन्ज्योसोम गाउँपालिकामा विजयी भएको थियो ।