२६ चैत, धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको विषयलाई लिएर गठबन्धन भित्र भाँडभैलो सुरु भएको छ । प्रदेश सरकार पुनर्गठनमा गठबन्धन भित्र रहेको पार्टीलाई बेवास्ता गरेको भन्दै जनता समाजवादी पार्टीले असन्तु्ष्टि जनाएकाे हो।
गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धन बाहिरिने चेतावनीसमेत दिएको छ । जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने जनाए ।
‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’
शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाको भनाइ छ । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् ।जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।