प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए । उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए । उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारी साधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैँले गर्नसक्छ ।’
यसका लागि विदेशी पनि इन्भेष्टमेन्ट गर्न तयार रहेको उनले बताए । उनले भने, ‘काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’