शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कविता हत्या प्रकरण : ‘क्लु’ अभियुक्तको घुँडाको व्याण्डेज


  • बुधबार, चैत्र २३ २०७८
16.7K
SHARES

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया सीता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई सीताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ ।

बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई सीता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबाट कविताको घर ३ किलोमिटर पर छ । सीताको घर करिब साढे ४ किलोमिटर पर पर्छ ।

धेरै दिनपछि मंगलबार एसइईको तयारी कक्षा लिन गएकी सीताले १९ वर्षका दाई बिनोदलाई पनि सँगै लगिन् । सोही क्रममा बाटोमा कविता भेटिइन् । स्कुलतिर जाँदै गर्दा बाटोमा फालिएको फोहोरका थुप्रोबाट बिनोदले बियरको खाली बोत्तल टिपे । सो कुरा कविताले थाहै पाइनन् । अचानक सो अभियुत्तले मिलेमतोमा हानेको बियरको बोत्तल टाउकोमा बज्रिएपछि कविता ढलिन् ।

बियरको बोत्तलले हिर्काएर हत्या गरेपछि करिब ४० मिटरजत्ति घिसारेर स्थानीय यसोदा खोला छेउमा शव फालेर आरोपीहरु भागेको खुलेको उदयपुरका एसपी सुवास बोहराले बताए ।

कविता र सीता एउटै कक्षामा पढ्ने र आपसमा मिल्ने साथी थिए । मिल्ने साथी भएपनि आफूलाई व्यवहारमा ‘डोमिनेट’ गरेको र आफ्नो कुरा सवैतिर भन्ने गरेको आरोप लगाएर सीताले मृतकसँग ‘इगो’ साँधेको पाइएको छ ।

हत्या गर्ने योजना रहेको हुनाले बाटोमा सीताले कवितासँग कुनै विवाद नगरेको पाइएको बताउँछन् एसपी बोहरा । उनले भने, ‘आरोपी सीतालाई घरबाट र विनोद ढकाललाई घटनास्थल नजिकैबाट पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

मृतकको शरीरको पछाडिको भागमा चोट देखिएको छ । उदयपुर प्रहरीले संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको प्राविधिकहरुको सहयोगमा अनुसन्धान गरिरहेको छ । आरोपी विनोद ढकाल भारतमा केही समय बसेर गाउँ फर्केपछि ८ कक्षामा भर्ना भएका थिए । मृतक र बिनोद पढ्ने स्कुल फरक छ ।

स्थानीयले बिहान ७ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि सीता ट्युसन पढ्न नगएर घरतिर गएकी थिइन् । मृतकको शव घिसारेर व्यवस्थापन गर्दा चोट लागेको हुनाले आरोपी विनोद मेडिकलमा गएर घुँडामा व्याण्डेज गरेर फर्किएको फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।

कृष्ण बहादुर सुनुवारकी कान्छी छोरी हुन् कविता । उनको दिदीको विवाह भैसकेको छ । भाइ सानो छ । छोरीको हत्या आरोपमा बाबु कृष्ण बहादुरले साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरमा आरोपीहरु बिरुद्ध किटानी जाहेरी दिएका छन् । अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी बोहराले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा